वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०८२ वरिष्ठ पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको छ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का वरिष्ठ उपाध्यक्ष तथा नारायणी एफएमका अध्यक्षसमेत रहेका देवकोटालाई नेपाल पत्रकार महासंघ पर्सा शाखाले यो वर्षको पुरस्कारका लागि चयन गरेको हो।
आज आयोजित पुरस्कार वितरण समारोहमा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले नगद ५१ हजार रुपैयाँसहित देवकोटालाई सम्मानपत्र प्रदान गर्नुभयो।
सो अवसरमा मन्त्री पटेलले वीरगञ्जको पत्रकारिता क्षेत्रमा देवकोटाले निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको बताउँदै उहाँले निष्पक्ष, निष्ठावान् र उत्तरदायी पत्रकारितामार्फत पृथक पहिचान बनाएको धारणा राख्नुभयो।
पत्रकारितामा प्रशिक्षणको आवश्यकता औँल्याउँदै मन्त्री पटेलले पछिल्लो समय राजनीतिक दलहरू खुलेझैँ सञ्चारमाध्यमको सङ्ख्या पनि बढ्दै गएको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, कोषाध्यक्ष रामकृष्ण अधिकारी, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायत वक्ताहरूले स्वर्गीय गोपाल गिरीले पत्रकारिता र राजनीतिक क्षेत्रमा पुर्याएको योगदान स्मरणयोग्य रहेको बताए।
पत्रकार देवकोटाले यो सम्मानले समाजप्रतिको जिम्मेवारी अझ बढाएको बताउनुभयो। स्वर्गीय गिरीको २०६० साल माघ १ गते वीरगञ्जमा तत्कालीन माओवादीद्वारा हत्या गरिएको थियो।
प्रकाशित मिति: बिहीबार, माघ १, २०८२