काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा आह्वान भएको विशेष महाधिवेशन आजबाट सुरु हुँदैछ ।
आज र भोलि काठमाडौँको भृकुटीमण्डपमा तय भएको विशेष महाधिवेशनले पार्टी नेतृत्व नै फेर्ने कि नीतिमात्रै बदल्ने भन्ने बारेमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।
महाधिवेशन आह्वानको माग गर्दै आएका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधि तथा नेतृत्व लिने महामन्त्रीद्वय थापा र शर्माबीच पनि यसबारेमा छलफल भइरहेको बुझिएको छ ।
सीआईएनसँग कुराकानी गर्दै नेता गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवालगायतका संस्थापन पक्षका नेता आउने वा नआउने निश्चित नभए पनि नेता गोपालमान श्रेष्ठ सहभागी हुने जानकारी दिनुभयो ।
काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता आज विहान ८ बजेदेखि कार्यक्रमस्थल भृकुटीमण्डप, मुल गेटसँगैको स्टलहरूबाट हुने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिनुभयो ।
नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क १ हजार रुपैयाँ बुझाउनुपर्ने भनिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२