सौराहा । नागरिक समाजलाई सशक्त बनाउने माध्यमका रुपमा सामुदायिक रेडियोको भुमिका महत्वपूर्ण बन्दै गएको सरोकारवालाहरूले बताएका छन्।

गत पुस ५ गते चितवनको सौराहामा युरोपियन युनियनको सहयोग तथा गैरसरकारी संस्था महासंघ र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था संघ (एआईएन) को तर्फबाट सेभ द चिल्ड्रेनको व्यवस्थापनमा सञ्चालित नागरिक स्थान सवलीकरण परियोजनासँगको सहकार्यमा सामुदायिक रेडियोहरुको छाता संगठन अकोराब नेपालले एक छलफल आयोजना गरेको थियो।
अकोराबले आयोजना गरेको नागरिक समाजको सबलीकरणमा सामुदायिक रेडियोको भुमिका विषय छलफल कार्यक्रममा सहभागीहरुले जेन्जी आन्दोलन पछि समय र परिस्थिति फेरिँदै जाँदा सामुदायिक रेडियोले पनि आफ्नो भूमिकालाई नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने आवश्यकता औल्याएका छन् । जेन्जी आन्दोलनपछि नागरिक समाजमाथि राजनितिक प्भाव, जनतासँगको दुरी र विश्वासको सङ्कट देखिन थालेको उनिहरुले बताएका छन्।

छलफलमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँले सामुदायिक रेडियोकमीलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न आग्रह गर्नभयो । उहाँले व्यक्तिगत वा पार्टिगत आस्था भए पनि त्यसको प्रभाव समाचार कक्षमा नपार्न सञ्चारकर्मीहरुलाई अनुरोध समेत गर्नुभयो । पछिल्लो समय समाचारको नाममा भ्रामक तथा मिथ्या सूचनाहरू बढिरहेको भन्दै यस्ता समाचार चिर्न सामुदायिक रेडियोले विशेष भूमिका खेल्नुपर्ने उहाँले जोड दिनुभयो ।

सामुदायिक प्रसारण संघका पूर्व अध्यक्ष तथा अमार्क एसिया प्यासिफिकका अध्यक्ष सुवास खतिवडाले भ्रामक सूचनाहरू चिर्न सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। समाजमा सकारात्मक सोच र स्थायित्वका लागि विशेष कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै जनशक्ति विकासका लागि सरकारले साझेदारी गर्नुपर्ने धारणा राख्नुभयो ।
सामुदायिक रेडियो सगरमाथाकी स्टेशन प्रमुख उर्वशी बस्नेत नागरिक समाज भनेको सरकार र निजी क्षेत्रभन्दा बाहिर रहेर स्वेच्छाले संगठित नागरिकहरूको साझा शक्ति हो, जसले नागरिक अधिकार, लोकतन्त्र, सामाजिक न्याय र सुशासनका लागि काम गर्ने समाज रहेको बताउनुहुन्छ । तर पछिल्लो समय नागरिक समाजका केही संघसंस्था र अभियन्ता राजनीतिक दल वा शक्तिकेन्द्रको प्रभावमा परेको आरोप लाग्दै आएको छ। यसले नागरिक समाजको विश्वसनीयता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उहाँको भनाइ छ । यस्तो अवस्थामा सामुदायिक रेडियोले स्थानीय तहदेखि राज्यको पहुँच नपुगेका ठाउँसम्म नागरिकलाई बोल्ने, प्रश्न गर्ने र अधिकार खोज्ने प्लेटफर्म दिनुपर्ने बताउनुभयो ।
नागरिक समाज सशक्त हुन सुचना, सहभागिता र समावेशिता अपरिहार्य रहेको बताउदै सामुदायिक बन महासङ्घकी केन्द्रीय सदस्य सीता खड्काले नागरिक समाजको सबलीकरणका लागि सफल अभ्यास, स्थानीय पहल र सकारात्मक परिवर्तनका कथालाई प्राथमिकता दिनु आजको आवश्यकता रहेको बताउनुभयो ।
स्थानीय भाषा र सन्दर्भमा कार्यक्रम प्रसारण हुँदा महिला, दलित, आदिवासी जनजाति, युवा र अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चित भएको समेत उहाँले बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले कुनै पनि नागरिक सशक्तिकरणको आधार विश्वसनीय सूचना रहेको बताउनुहुदैँ राजनीतिक, आर्थिक वा व्यक्तिगत दबाबबाट मुक्त रहदै सामुदायिक रेडियोले नागरिक समाजलाई पनि खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो ।
छलफलमा सहभागीहरूले लोकतन्त्रको आधार सचेत नागरिक समाज भएको उल्लेख गर्दै सामुदायिक रेडियोले अब सूचना दिने मात्र होइन, नागरिकलाई सशक्त बनाउने, प्रश्न गर्न सिकाउने र सहभागितामूलक लोकतन्त्र निर्माण गर्ने माध्यम बन्नुपर्ने निष्कर्ष निकालेका छन्।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२