काठमाडौँ । वायु प्रदुषणको सवाल, वर्तमान अवस्था र नीतिगत पहलहरुको लागि सरोकारवालासंगको संवाद कार्यक्रम काठमाडौँमा भएको छ ।
क्लिन अप नेपाल र जिडी ल्याब तथा रिसर्चको संयुक्त आयोजना तथा EPIC Air Quality Fund को सहयोगमा सञ्चालित कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका वातावरण निरीक्षक रीना चौधरीले वायु प्रदुषणले मानव स्वास्थ्यमा पारेको दीर्घकालीन र गम्भीर असरहरु बारे प्रकाश पार्नुभयो ।
नेपाल सरकार, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदुषणलाई विपद्को सूचीमा राख्ने गरि भइरहेका प्रयासहरु र अन्य सरोकारवाला निकायहरुसँग गरेको सहकार्यको बारेमा पनि उहाँले जानकारी गराउनुभयो ।
काठमाण्डौँ र ललितपुर महानगरपालिका कार्यालय तथा काठमाण्डौँ उपत्यका भित्रका अन्य नगरपालिकाबाट उपस्थित प्रतिनिधिहरूले वायु प्रदुषण न्यूनिकरणमा स्थानीय सरकारले गरेका अभ्यासका बारेमा जानकारी गराएका थिए ।
सहभागीहरुले प्रदुषण नियन्त्रणमा एकिकृत पहलको खाँचो रहेको, स्थानीय सरकारको श्रोत तथा क्षमता विकासमा जोड दिनुपर्ने, सामाजिक संस्थाहरुले समुदायको सचेतना र क्षमता विकासमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्दै आएको संस्था क्लिन अप नेपालका कार्यकारी निर्देशक रवीन्द्र लामिछानेले वायु प्रदुषणको कारणहरु र यसले जनस्वास्थ्यमा पारेको प्रभावका साथै संस्थाले काठमाण्डौ उपत्यकाका ३९ विद्यालयहरु र १ समुदायमा वायु गुणस्तर मापन यन्त्र स्थापना, विद्यालयमा सचेतना विस्तार र प्रदुषण न्यूनिकरणका लागि नीतिगत वकालतमा गरिएका कामको बारेमा प्रस्तुति गर्नुभयो ।
"वायु प्रदुषणलाई नियन्त्रणका लागि स्थानिय सरकारदेखि सङ्घीय सरकारसम्म गम्भीर हुनु आवश्यक छ । सरकारले वायु प्रदुषणलाई विपद् जोखिम अन्तर्गत राख्नुपर्छ ।" सरसफाइको क्षेत्रमा क्रियाशील स्वच्छ सफा नेपालका अध्यक्ष रविन्द्र अधिकारीको भनाइ छ ।
वायु प्रदुषण सम्बन्धी प्रभावकारी नीति विश्लेषण गर्न, प्रभावकारी नीति निर्माणका लागि सरोकारवालाहरुको सहभागिता सुनिश्चित गर्न र प्रदुषण न्यूनिकरणमा योगदान गर्न आगामि दिनमा सहकार्य बढाउने पनि उहाँले बताउनुभयो ।
जीडी ल्याव एण्ड रिसर्चका प्रमुख प्राविधिक अधिकृत समिप सिग्देलले सहज रुपले स्वास लिउँ, बालबालिकाहरुलाई प्रदुषणबाट जोगाँउ भन्ने कार्यक्रम मार्फत उपत्यकाका ३९ वटा विद्यालय तथा १ वटा समुदायमा राखेका वायु गुणस्तर मापन यन्त्रले देखाएको नतिजा र यसले समुदाय, विद्यालय र स्थानीय सरकारलाई न्यूनिकरणका लागि उत्प्रेरित गरेको बताउनुभयो ।
सहभागीहरूले वायु प्रदुषणको जोखिमलाइ कम गर्न नीतिगत स्पष्टताका लागि थप वकालत गर्नुपर्ने, सबै तहका सरकारी निकायहरु बिच प्रभावकारी समन्वय हुनुपर्ने र समुदायस्तरमा सचेतनामूलक कार्यक्रममा सरोकारवालाको सहकार्य हुनुपर्मा जोड दिए ।
१४ महिलासहित ४७ जनाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण वकालत तथा अभियान सल्लाहकार प्रेम प्रकाश नेपालीले गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२