इलाम । क्यान्सर प्रभावितलाई उपचारमा सहयोग गर्न साइकल यात्रा हुने भएको छ ।
अंग्रेजी नयाँ वर्षको दिनबाट करिव एक महिला लामो साइकल यात्रा हुने भएको हो । क्यान्सर पीडितका लागि कोष संकलन गर्न साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालबीचको सहकार्यमा पाँचथरबाट १८ सय किलो मिटर साइकल यात्रा तय भएको छ ।
क्यान्सरलाई जितेका दुई राइडर सहित १० जनाको टोलीले पाँचथरको चिवा भञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म यात्रा गर्ने धुलिखेल अस्पतालका प्रा.डा सुमनराज ताम्राकारले जानकारी दिनुभयाे। उहाँकाअनुसार क्यान्सर रोगलाई परास्त गर्ने राईडर हर्क लामा, कविता चित्रकारसहित ज्ञानेन्द्र स्थापित, धुलिखेल अस्पतालका प्रा.डा ताम्राकार, व्यवसायी बुद्ध लामा परिवार, फोर्टिन पिक प्रडक्शनका फोटोग्राफरद्वय शिरीषमान र सुजल पौडेल लगायत टोलीमा सहभागी छन् ।
बिभिन्न दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको भन्दै मनकारी दातालाई पुन्य कर्ममा जोडिन आह्वान समेत गरिएको छ। साइकल यात्रा सम्पन्न भइसकेपछि एक बिशेष कार्यक्रमको आयोजना गरेर कोर्ष स्थापनाको महत्व जानकारी गराइने बताइएको छ। एक करोड रकम संकलन हुने अपेक्षा गरिएको छ। हालसम्म (साइकल यात्रा सुरु नभइ) २० लाख माथी रकम संकलन भइसकेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १६, २०८२