जनकपुरधाम । चिसो बढ्दै गएपछि सडक पेटी र सार्वजनिक स्थानमा राति खुला आकाशमुनी सुत्न बाध्य व्यक्तिहरुलाई न्यानो कपडा वितरण सुरु गरिएको छ । विशेषगरि असहाय तथा विपन्न व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैङ्क नेपालले रात्रीकालीन सिरक वितरण अभियान सुरु गरेको हो।

जनकपुरधामका विभिन्न स्थानमा राति करिब ११ बजेसम्म पुगेर क्लोथ बैङ्कको टोली जाडोले काँपिरहेका गरिब र असहाय व्यक्तिहरुलाई सिरक वितरण गरेको हो । अभियानमा क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झा, सचिव मनीष श्रीओम, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, डिआइजी गोविन्द थपलिया, एसपी गुरुम कुँवर, प्रहरी तथा क्लोथ बैंकका प्रतिनिधिहरू सहभागी थिए।
टोलीले गंगासागर, राम मन्दिर, जानकी मन्दिर, संकटमोचन मन्दिर, रेलवे स्टेशन, मिल्स एरिया लगायतका स्थानमा पुगेर सडक जीवन बिताइरहेका नागरिकलाई खोजीखोजी सिरक उपलब्ध गराएको हो ।
यसअघि रौनियार युवा मञ्चले क्लोथ बैंक नेपाललाई ५० थान फाइबर सिरक सहयोग गरेको थियो। तीमध्ये २५ थान सिरक जनकपुरधाममा वितरण गरिएको हो। सिरक हस्तान्तरण कार्यक्रम रौनियार सेवा समितिमा सम्पन्न भएको थियो, जहाँ सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: बुधबार, पुस १६, २०८२