जनकबहादुर शाही
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीमा गएराति भएको आगलागीमा १६ महिनाका रेबेन्द्र जेठाराको जलेर मृत्यु भएको छ भने उनकी आमा बर्रा जेठारा घाइते हुनुभएको छ ।
रामराज जेठाराको घरमा साँझ करिब ६ बजेतिर लागेको आगोले मानवीय तथा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
खाना पकाउने क्रममा कोठाको छेउमा राखिएको पेट्रोलमा आगो सल्किएपछि आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पेट्रोलका कारण आगो तीव्ररूपमा फैलिँदै केही मिनेटमै घर पूर्ण रूपमा जलेको खार्पुनाथ गाउँपालिका २ नम्बर वडाका अध्यक्ष चन्द्र रावलले जानकारी दिनुभयो ।
आगो नियन्त्रण गर्ने प्रयासका बीच घरभित्र रहेका परिवारलाई उद्धार गरिएको भए पनि १६ महिनाका बालक रेबेन्द्रलाई जोगाउन नसकिएको वडा अध्यक्ष रावलको भनाइ छ ।
आगलागीका कारण घरभित्रका लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, नगद तथा दैनिक प्रयोगका सबै सामग्री पूर्ण रूपमा नष्ट भएका छन् ।
प्रकाशित मिति: शनिबार, पुस १२, २०८२