काठमाडाैँ । मानसिक स्वास्थ्य सवल बनाउन सरकारलाई १७ बुँदे सिफारिस गर्दै राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ। मानसिक स्वास्थ्य बिना स्वास्थ्य सम्भव छैन भन्ने मुल नाराका साथ राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन २०२५ काठमाडौँमा सम्पन्न भएको हो।
सम्मेलनमा देशका विभिन्न प्रदेश र समुदायमा मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तिहरू, संघसंस्था प्रतिनिधि, मनोविज्ञान, सामाजिक सेवा, नर्सिङ अध्ययनरत विद्यार्थी गरी करिब २ सय जनाको सहभागिता रहेको थियो।
तरंगिनी फाउन्डेसनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र महामारी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा सम्मेलन आयोजना गरेको थियो। सम्मेलनका सह–आयोजकमा महिला पुर्नस्थापना केन्द्र (ओरेक), सिविन नेपाल, दिगो सामाजिक विकासका लागि मित्रता (स्वासा), हेल्थ फाउन्डेसन नेपाल (एच.एफ.एन.), मानसिक स्वास्थ्यका लागि छाहारी नेपाल, पिपल फाउन्डेसन, अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट, निर्वाणा साइकोसोसल केयर एण्ड रिसर्च सेन्टर, हार्ट माइण्ड कन्सल्टेन्सी प्रा.लि, सुनिता फाउन्डेसन, महिलाको निम्ति महिला मञ्च तथा श्रमजीवी महिला मञ्च र मिडिया पार्टनर अकोराव रहेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन भएको सम्मेलनमा मानवअधिकार आयोग जेनेभाका सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार विशेषज्ञसहित विशिष्ट वक्ताहरूले धारणा राखेका थिए।
सम्मेलनमा प्रमुख तीन विषयमा गहन छलफल भएको थियो। मानसिक स्वास्थ्य नीति, रणनीति र कार्ययोजना कागजबाट व्यवहारमा, महिला, काम र स्वःहेरचाहसँग सम्बन्धित मानसिक स्वास्थ्य, समुदायमा आधारित मानसिक स्वास्थ्य अभ्यास, संस्कृति, प्रमाण र सहकार्यका सवालमा छलफल गरिएको थियो । समूह छलफलबाट आएका सुझाव समेट्दै सम्मेलनले १७ बुँदे सिफारिस समेत सार्वजनिक गरेको छ।
समुदायमै मानसिक स्वास्थ्य सेवा सुदृढ गर्दै अस्पतालमा मात्र निर्भरता घटाउने, काउन्सलर, मनोसामाजिक कार्यकर्ता, शिक्षकलगायतलाई तालिम र निरन्तर निगरानी गर्ने, परम्परागत उपचारक जस्तै, धामी र झाँक्रीलाई मानसिक स्वास्थ्य पहिचानसम्बन्धी तालिम दिने विषय सिफारिसमा उल्लेख रहेको छ ।
यस्तै, राष्ट्रिय मानसिक स्वास्थ्य नीतिमा समुदाय आधारित अवधारणा समावेश गर्ने, लैंगिक संवेदनशील, समावेशी र किफायती सेवा विस्तार गर्ने, प्रत्येक स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभूत मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने सिफारिस गरिएको छ ।

त्यसैगरि विपद् र महामारीमा मानसिक स्वास्थ्य सहयोगलाई अनिवार्य बनाउने, दुर्गम क्षेत्रमा टेलिमेडिसिनमार्फत सेवा विस्तार, गम्भीर मानसिक बिरामीका लागि समुदायमै पुनःस्थापना र परिवारलाई तालिम दिने विषय समेत १७ बुँदे सिफारिसमा उल्लेख रहेको छ ।
सम्मेलन पछि स्थानीय सरकार, नागरिक समाज, शैक्षिक स.सथा र समुदायसँग सहकार्य बढाउने, प्रमाणमा आधारित र संस्कृतिमैत्री मानसिक स्वास्थ्य कायृक्रम विस्तार गर्ने तथा नैतिक र अधिकारमा आधारित अभ्यास प्रवद्र्धन गर्ने प्रतिवद्धता सहआयोजकहरुले जनाएका छन् ।
सम्मलेन गत मङ्सिर १९ र २० गते दई दिनसम्म आयोजना गरिएको हो।
Declaration_National_Community_Mental_Health_Conference (1).pdf
प्रकाशित मिति: सोमबार, पुस ७, २०८२