काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ ।
ललितपुर महानगरपालिकाको १ सय ७ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई “ललितपुर महानगर गौरव पुरस्कार” द्धारा सम्मान गरिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले ललितपुर महानगरपालिका पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणमा भएको महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहका बीच गणलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यहरुमा गणले पुर्याएको योगदानको कदर स्वरुप महानगरपालिकाले १ लाख नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको सशस्त्र प्रहरी प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सोही महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२