काठमाडौँ । भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलन पछि सामाजिक सद्भाव खलबलिन सक्ने भन्दै सरकारवालाले शान्ति र भ्रातृत्वको भावना जगाउन पर्याप्त संवाद गर्नुपर्नेमा जोड दिएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज ललितपुरमा आयोजना गरेको ‘सामाजिक सद्भाव र शान्तिका लागि पहल’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले शान्ति, सामाजिक न्याय र युवा वर्गले भोग्नुपरेका चुनौतीहरूबारे आआफ्नो धारणा राखेका छन् ।
द्वन्द्व तथा शान्तिविज्ञ डा विष्णुप्रसाद उप्रेतीले कुनै पनि हिंसा वा द्वन्द्वपछिको मृत्यु, तोडफोड, आगजनीलगायतका घटनापछि समाजमा व्यक्ति, समूह, गाउँ, समाजकाबीचमा तिक्तता हुने भएकाले सद्भाव कायम गर्न सरोकारवालाले निरन्तर छलफल गर्नुपर्ने बताउनुभयो ।

सद्भाव र शान्तिका लागि कुनै एक व्यक्ति वा निकायले मात्रै पहल गरेर नपुग्ने भन्दै उहाँले शान्ति र सुशासन अन्तरसम्बन्धित रहेकाले सकारात्मक भावनाको विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
अवसर, पहुँच, मेलमिलाप, चेतना, नागरिक दायित्वको बारेमा जानकारी गराउँदै सरोकारवाला निकायले पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताउनुभयो ।
अधिकार माग्दै गर्दा नागरिकले आफ्नो कर्तव्यका बारेमा पनि ख्याल गर्नुपर्ने उप्रेतीको भनाइ छ । व्यक्तिव्यक्तिले नै शान्ति र सद्भाव कायम गर्न आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उहाँको जोड छ ।
त्रिभुवन विश्वविद्यालय, द्वन्द्व, शान्ति र विकासका एसोसियट प्राध्यापक चिरञ्जीवि भण्डारीले युवा र पाको पुस्ताबीचमा निरन्तर संवाद हुँदा पनि समाजमा सद्भाव कायम हुने बताउनुभयो ।
व्यक्ति र समस्या अलग हुन् भन्ने बारेमा बुझ्दा समस्या समाधान गर्न सजिलो हुने उल्लेख गर्दै जेन जी, नेताहरूले आफूलाई एकअर्काको ठाउँमा राखेर हेर्दा शान्ति कायम गर्न सकिने धारणा राख्नुभयो ।
सबैको सहभागिता बिना शान्ति, एकता र सद्भाव कायम गर्न सकिने भएकाले सरकारी तथा गैरसरकारी निकायले पनि त्यसैअनुसारको छलफल र संवाद गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय अपाङ्ग संघकी प्रतिनिधि सुप्रभा अर्यालले सामाजिक सद्भाव हुनु नै शान्ति भएको बताउँदै समाज, विद्यालय लगायतका ठाउँमा निर्धक्क भएर बोल्न र बस्न पाउनु नै वास्तविक शान्ति रहेको धारणा राख्नुभयो ।
सञ्चारकर्मी बालकृष्ण साहले नागरिकहरूको जीविकोपार्जनको सुनिश्चितता भएमा मात्र शान्ति स्थापना हुने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा बताउनुभयो ।
उहाँले राज्यले आफ्नो दायित्व आत्मसात गर्दै प्रत्येक नागरिकलाई गास, बास र कपासको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा सहभागी बबिता घिमिरेले जेन्जी आन्दोलन देश परिवर्तनका लागि भएको भन्दै हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध रोकिएमा पनि असन्तुष्टि नबढ्ने बताउनुभयो ।
अर्का सहभागी सविता केसीले जेनजी आन्दोलनले गर्दा युवा वर्गमा मानसिक रूपमा तनाव बढेको बताउँदै युवाको उपस्थितिलाई सम्मानपूर्वक स्वीकार गर्नुपर्ने र अल्पसङ्ख्यक समुदायका मानिसहरूको उपस्थितिलाई पनि आवश्यक स्थान दिनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार सन्तोषी रावलले शान्तिलाई दुई पक्षबीचको समन्वयको रूपमा बुझेर त्यसैअनुसारका संवादका कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।
अधिवक्ता गौतम शर्माले सरकारी कार्यालयहरूको प्रक्रियागत ढिलासुस्तीका कारण पनि युवाहरूमा असन्तुष्टि बढेको बताउनुभयो ।
उहाँले कानुनको पालना गर्नु सबैको कर्तव्य भएको कुरामा जोड दिँदै सरकारी कामकारबाहीमा सुधारको आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा समिक्षा दाहालले आपसी सम्मान, संवाद गर्दै सद्भाव कायम गर्न सकिने धारणा राख्नुभयो ।
विवाद समाधानका लागि आफूसँग भएको सीप र क्षमताको प्रयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२