काठमाडौँ । जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा आज हस्ताक्षर भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा एक समारोहबीच हस्ताक्षर सम्पन्न भएको हो। सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारहरूका अगुवा भोजविक्रम थापाले हस्ताक्षर गर्नुभएको हो ।
अन्य जेनजी प्रतिनिधिहरूले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, कानुनमन्त्री अनिलकुमार सिन्हा, खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालको उपस्थिति थियो।
स्वतन्त्र पर्यवेक्षकका रूपमा नागरिक अगुवाहरू खगेन्द्र सङ्ग्रौला, विद्याधर मल्लिक लगायतको उपस्थिति थियो । जेनजी आन्दोलनका घाइते, सहिद परिवार र विभिन्न समूहका जेनजी अगुवाहरूको पनि ठूलो सङ्ख्यामा उपस्थिति थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले यो सम्झौतालाई इतिहासको एउटा कोशेढुङ्गाको संज्ञा दिँदै यसले भोलिको परिवर्तनलाई निर्देशित गर्ने बताउनुभयो ।
नेपाल जेनजी आन्दोलनको गुरु राष्ट्र बन्न पुगेको र यहाँको प्रेरणाबाट अन्य मुलुकहरूमा पनि आन्दोलन भइरहेको उल्लेख गर्नुभयो ।
यस दस्तावेजलाई स्वीकार्य बनाउन खोज्दा हस्ताक्षर गर्न केही ढिलाइ भएको जानकारी पनि दिनुभयो ।
उहाँले जेनजी आन्दोलनका क्रममा ज्याउन गुमाउने सहिद, घाइते योद्धा तथा सबै जेनजी युवाको योगदान इतिहासमा अभिलिखित राखिरहन पनि यो दस्तावेज निर्माण गरेको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२