रुपन्देही । लैङ्गिक सामाजिक समावेशी बाली अवशेष व्यवस्थापन सम्बन्धी दुई दिने बहुसरोकारवाला कार्यशाला आजदेखि लुम्बिनीमा सुरु भएको छ ।
अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा सुरु भएको कार्यशाला विहीबार र शुक्रबार चल्नेछ ।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै इसीमोडका कार्यक्रम व्यवस्थापक रवी साउथले भारतलगायतका देशहरूमा भएका सिकाइको अनुकरण गरेर बालीका अवशेषहरुलाई व्यवस्थापन गर्नुपर्ने बताउनभयो ।
इसिमोडका लैङ्गिक तथा प्राकृतिक श्रोत विशेषज्ञ कमला गुरुङले लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही र कपिलबस्तुमा लैङ्गिक र सामाजिक रुपमा उत्तरदायी कार्यक्रम सञ्चालन गरी बाली अवशेष ब्यवस्थापन, विद्यमान नीति र नियमबारे संवाद गर्ने उद्धेश्यले कार्यक्रम गरिएको बताउनुभयो ।
उहाँले किसानहरुलाई बाली अवशेष जलाउने कार्य कम गर्न किसान तथा व्यवसायीहरूलाई व्यावसायिक रुपमा सशक्त गर्दै सचेतनाका कार्यक्रम गर्दै जाने कार्यक्रमको उद्धेश्य रहेको बताउनुभयो ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालका राष्ट्रिय निर्देशक केदार कोइरालाले बाली अवशेष व्यवस्थापनका सन्दर्भमा नेपालका विद्यमान नीतिहरूको अपूर्णता र कानुनको अभावमा पराल, छुवाली खोष्टा लगायतका बालीका अवशेषहरु खेतमै जलाउँदा वातावरण प्रदुषनका साथै खेती प्रणालीमै असर पारेकाले यस विषयमा सरोकारवालबीच छलफल आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीले बाली अवशेष जलाउँदा पर्ने प्रभावका विषयमा वहुसरोकावालासँग मसिनो छलफल गरेर आगामी बाटोको समेत तय गर्ने महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।
राष्ट्रिय कृषक समूह लुम्बिनी प्रदेशका अध्यक्ष सर्बजित विष्टले बाली अवशेष जलाउने कामलाई कम गर्न सबै सरोकारवालाले आ–आफ्नो ठाँउबाट सहयोग र समन्वय गर्नु पर्ने बताउनुभयो ।
रामग्राम नगरपालीकाका प्रमुख धनपती यादवले नीजि क्षेत्रलाई यसको व्यवस्थापनमा आउनको लागि आफूले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बाली अवशेष व्यवस्थापन नीति, नियम र कानुन निर्माणमा प्रदेस सरकार गम्भिर भएर लाग्ने लुम्बिनी प्रदेश भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव अनिल मरासिनीले बताउनुभयो ।
यसै क्षेत्रका उद्यमी अनन्त खड्काले आफूहरुले गरिरहेको प्रयासलाई सहयोग पुराउन सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
सीआईएनका प्रवन्धक दीपक आचार्यले नेपालका मुलप्रबाहका सञ्चारमाध्यमले बाली अवशेष व्यवस्थापनका सवालहरूलाई जति प्राथमिकताका साथ उठाउनु पर्ने हो, त्यो उठाउन नसकेकोले यस विषयमा सञ्चारकर्मीको क्षमता विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय सञ्चारमाध्यम र सामुदायिक रेडियोले सचेतना फैलाउने काम सुरु गरेको बताउदैं वायुप्रदुषको मुख्य कारणको रुपमा रहेको बाली अवशेष जलाउने र वनजङ्गलको डढेलो नियन्त्रण गर्ने कार्यका लागि अभियान नै आवश्यक रहेको बताउनुभयो । लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीका किसान, स्थानीय सरकार,प्रदेश सरकार र सरोकार राख्ने संस्थाका प्रतिनिधि सहभागी छन् ।
कार्यशालामा नेपालमा बाली अवशेष व्यवस्थापन नीति तथा अभ्यास, बाली अवशेष व्यवस्थापनमा राष्ट्रिय कृषि आधुनिकरण परियोजनाको भूमिका, लैङ्गिक समावेशी एवं सामाजिक उत्तरदायी बाली अवशेष, खुल्ला अवशेष जलन अभ्यास न्यूनिकरणमा बहुसरोकारवालाको भूमिका, बाली अवशेष उपयोगीताको महत्व लगायतका विषयमा विशेषज्ञको प्रस्तुति, प्यानल छलफल ,समूह कार्य गर्दै आगामी कार्य योजना तयार गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२