काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय आज स्थापना गरिएको छ ।
निर्वाचन आयोग, बहादुर भवन, कान्तिपथ, काठमाडौँमा कार्यालय स्थापना भएको हो । कार्यालयको एक समारोहका बीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले उद्घाटन गर्नुभएको हो।
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको मिति २०८२ मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिनु भएका आयोगका सचिव माहादेव पन्थले आजै सो जिम्मेवारी वहन गर्नु भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईँले जानकारी दिनुभयो ।
उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतको रूपमा आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईलाई तोकिएको छ। समानुपातिक निर्वाचन व्यवस्थापनको लागि ४१ जना कर्मचारीहरू खटिएका छन्।
कार्यालयको उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्यहरू निर्वाचन अधिकृतको कार्यालयबाट हुने हुँदा सबै सरोकारवालालाई सहज हुने विश्वास व्यक्त गर्नुका साथै सूत्रात्मक पद्दतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुन बमोजिमका जातीय, भौगोलिक, लैङ्गिक लगायतका समूहहरू छुट्याएर प्रतिनिधि चयन गरिने व्यवस्था गर्न भन्नुभयो ।
आजै अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिल कुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्वतयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्नका लागि नेपाल सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गर्नुभएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२