काठ्माडाैँ । नेपालमा अध्ययन भिसा दुरुपयोग बढ्दै गएपछि अध्यागमन विभागले कडा निगरानी सुरु गरेको छ।
विभागले शैक्षिक संस्थाहरूलाई पढ्न नआउने वा पठनपाठन बाहेकका गतिविधिमा संलग्न विदेशीलाई भर्ना नगर्न चेतावनी दिएको हो। विभागले आज जारी गरेको विज्ञप्तिमा कतिपय संस्थाले आम्दानीका लागि मात्र विदेशी विद्यार्थी भर्ना गर्ने गरेका कारण भिसा दुरुपयोग बढेको बताएको छ।
धेरै विद्यार्थीले कक्षा नियमित रूपमा नपढ्ने, नक्कली कागजात बुझाउने र कोर्स सकिँदा प्रमाणपत्रसमेत पेस गर्न नसक्ने घटनाहरू भेटिएको विभागको भनाइ छ।
विभागले शैक्षिक संस्थाहरूलाई विद्यार्थी नियमित रूपमा पढाइमा संलग्न छन् कि छैनन् भन्ने जाँच गरेर मात्र भिसा सिफारिस गर्न निर्देशन दिएको विभागका निर्देशक टिकाराम ढकालले सीआईएनसँग बताउनुभयो ।
टिकाराम ढकाल ।
कुनै विद्यार्थी शंकास्पद गतिविधिमा संलग्न भएको थाहा पाएमा तुरुन्त विभाग वा स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गरिएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२