काठमाडौँ । लैङ्गीक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा संयुक्त राष्ट्रसंघले आज काठमाडौँमा विशेष कार्यक्रम गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यमा नेपालमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको विशेष कार्यक्रम सुरु गरेको छ ।
अभियानको यस वर्षको विश्वव्यापी नारा “सबै महिला र किशोरी विरुद्ध हुने डिजिटल हिंसा अन्त्य गर्न एक होऔँ” तय गरिएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री खरेलले प्रत्येक नेपाली नागरिकको लागि सुरक्षित, समावेशी र सशक्त डिजिटल इकोसिस्टमको आवश्यकतामा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “अबको नेपालको विकसित डिजिटल परिदृश्यमा डिजिटल सुरक्षा नागरिक सहभागिता, सूचनामा पहुँच र अधिकारको पूर्ण प्रयोगको केन्द्रबिन्दु हो।"
संयुक्त राष्ट्र संघको तर्फबाट बोल्दै आवासीय संयोजक हाना सिंगर-ह्याम्डीले डिजिटल हिंसा महिला र किशोरीहरूको अधिकार, मर्यादा र स्वायत्ततामाथिको आक्रमण मात्र नभई सार्वजनिक जीवनमा उनीहरूको सहभागिताको लागि प्रत्यक्ष खतरा पनि भएको कुरामा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “अनलाइन दुर्व्यवहारले महिला पत्रकारहरूलाई मौन बनाइरहेको छ, महिला नेताहरूलाई निरुत्साहित गरिरहेको छ र किशोरीहरूलाई डिजिटल स्पेसहरूबाट टाढा धकेलिरहेको छ। महिला र किशोरीहरूका लागि अनलाइन माध्यम सुरक्षित बनाउन, समग्र समाजले हानिकारक मूल्यमान्यताहरूलाई चुनौती दिन, जवाफदेहितालाई बलियो बनाउन र डिजिटल अधिकारको सुरक्षा गर्ने प्रणालीमा लगानी गर्न आवश्यक छ।"
उहाँले उत्थानशीलता निर्माण गर्न, मनोवृत्ति परिवर्तन गर्न र सम्मानजनक अनलाइन व्यवहारलाई प्रवर्द्धन गर्न, किशोर किशोरीहरू - विशेष गरी किशोरहरूलाई डिजिटल साक्षरताको आवश्यकता रहेको कुरा प्रकाश पार्नुभयो।
आवासिय संयोजक हाना सिङ्गर-ह्याम्डीले डिजिटल हिंसाले विशेषगरी सीमान्तकृत समुदायका महिला एवं किशोरीहरुको अधिकार, सम्मान र स्वायत्तता माथि गम्भीर प्रहार गर्ने विषय उल्लेख गर्नुभयो ।
उहाँले अनलाईनमा महिला एवं किशोरीहरुको सुरक्षाका लागि हानिकारक मान्यताहरुलाई चुनौती दिन, जवाफदेहिता सुदृढ गर्न र डिजिटल अधिकार सुनिश्चित गर्ने प्रणालीमा लगानी गर्न समाजको समग्र सहभागिता आवश्यक पर्ने बताउनुभयो।
यसका साथै, उहाँले सम्मानजनक अनलाईन व्यवहार प्रवर्द्धन गर्नका लागि किशोरवस्थामा रहेका व्यक्तिहरुलाई डिजिटल साक्षरता तथा अनलाईन सुरक्षा सम्बन्धी शिक्षाको आवश्यकता रहेको विषयमा जोड दिनुभयो।
कार्यक्रममा सुरक्षित डिजिटल स्पेसका लागि सामूहिक प्रतिबद्धता झल्काउने, युवाद्वारा तयार गरिएको चित्र(म्युरल) प्रदर्शन गरिएको थियो । बढ्दो अनलाईन दुर्व्यवहार र प्रभावकारी सुरक्षाको तत्काल आवश्यकताका विषयमा सामाजिक अभियन्ता तथा डिजिटल अधिकारका विज्ञहरुसँग छलफल समेत गरिएको थियो।
कार्यक्रममा युवा सहभागिहरुले अनलाईन दुर्व्यवहार सम्बन्धी आफ्ना अनुभव तथा सुरक्षित डिजिटल जीवनका लागि उनीहरुप्रति गरिने विश्वास, समर्थन र सशक्तिकरणको महत्व बारे आफ्ना विचारहरु साझा गरेका थिए ।
उनीहरुले पीडितका लागि थप प्रभावकारी सहायता प्रणाली, हानिकारक अनलाईन विषयवस्तुहरुको प्रभावलाई सम्बोधन गर्न र महिला एवं किशोरीहरुलाई सुरक्षित हुने प्लाटफर्महरुको निर्माण गर्न माग गरे ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२