काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले आफूहरूको मागको सुनुवाइ नभएका कारण आफ्नै नेतृत्वमा दल दर्ता गर्नुपरेको बताएका छन् ।
हिजो पहिलो पटक निर्वाचन आयोगमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यको नेतृत्वमा दल दर्ताको निवेदन परेको छ । तेस्रो लिङ्गी अधिकारकर्मी नुमा लिम्बू चञ्चलाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति रहनेगरी गरी समाजवादी समावेशी पार्टी (ससपा) आयोगमा दर्ताका लागि निवेदन दिइएको हो ।
सीआईएनसँग कुराकानी गर्दै अध्यक्ष लिम्बूले यसअघि अरु राजनीतिक दललाई आफ्नो माग, सहभागिताका बारेमा कुरा उठाउँदा सुनुवाइ नभएका कारण दल दर्ता गरेर अघि बढ्ने स हमति भएको बताउनुभयो ।
पार्टीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय बाहेक व्यक्तिलाई पनि सहभागी गराइने उहाँको भनाइ छ । ससपाले बुझाएको केन्द्रीय समितिमा अध्यक्ष झापाकी नुमा लिम्बु, उपाध्यक्ष खोटाङका पवन राई, ललितपुरका शमशेर दंगाल र लमजुङकी बबिता धिताल तामाङ छन् ।
महासचिव सर्लाहीका मनिन्द्रसिंह दनुवार, सचिव मकवानपुरकी सञ्जीवनी लोप्चन, कोषाध्यक्ष सिन्धुलीका लासाङ दोर्जे र प्रवक्ता काठमाडौँकी प्रतीक्षा चापागाईँ छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२