ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका–१ स्थित कालिखोला आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई लत्ताकपडा तथा शैक्षिक सामाग्री वितरण गर्नुकासाथै सचेतनामूलक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
सो गाउँपालिकाका अध्यक्ष मानबहादुर राईको प्रमुख आतिथ्य तथा विभिन्न संघसंस्थाका महानुभाव, स्थानीय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख, शिक्षक तथा विद्यार्थीहरु र स्थानीय वासिन्दाहरुको उपस्थितीमा सो कार्यक्रम संचालन गरिएको हो ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्म ताप्लेजुङ्ले कालिखोला आधारभूत विद्यालयको प्राङ्गणमा आयोजना गरेको सीमा क्षेत्र विकास कार्यक्रममा सो सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा नं. १ कञ्चनजंघा गुल्म ताप्लेजुङ्का गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोद पाठकले सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा बसोवास गर्ने नागरिक र विद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमको आयोजना गरिदै आएको तथा सीमा सुरक्षाको महत्व, सामाजिक विकृतीविरुद्ध सचेत र सीमा अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम समेत संचालन गर्दै आएको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२