काठमाडौँ । निर्वाचन आयोगले दलदर्ता आह्वान गरेसँगै नयाँ राजनीतिक दल खोल्न लागेका नेताकार्यकर्ताहरूको दौडधुप बढेको छ ।
फागुन २१ का लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा भएसँगै भएका दल विभाजन हुने र नयाँ दल खोल्नका लागि सक्रियता बढेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टीका नेताहरु आज आयोग पुगेका छन् । बुझाइएको विवरणका बारेमा अध्ययन गरेर निर्णय लिइने उहाँको भनाइ छ । पत्रकारसँग कुराकानी गर्दै नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले स्थापित नेता पार्टीमा भएका कारण जनताले विश्वास गर्ने बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका अर्का नेता वर्षमान पुनले जेनजी आन्दोलनको माग सम्वोधन हुनेगरी आफूहरूले कार्यक्रम बनाउने बताउनुभयो ।
केही दिन अघि नेकपा माओावादी एकीकृत समाजवादीसहित १० बाम घटकहरुले पार्टी एकताको घोषणा गरेका थिए ।
यसैबीच अभियन्ता युवराज पौडेल सफल नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभिएको छ । यस अघि नै सफलको नेतृत्वमा दर्ता कायम रहेको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल नागरिक पार्टी दल आज दर्ता गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी) का तत्कालीन महासचिव घनश्याम भुसाल समूहले पनि दल दर्ताका लागि निर्वाचन आयोगमा आज निवेदन दिएको छ ।
उक्त पार्टीका स्थायी समिति सदस्य डा. विजयकुमार पौडेलसहितको टोलीले दर्ता गरेको निवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र) रहेको छ भने चुनाव चिह्न सूर्यमुखी फूल प्रस्ताव गरिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२