काठमाडौँ । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट आज बिहानसम्म १ सय ६२ जनाको उद्धार गरेको छ ।
अब अन्नपूर्ण बेशक्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक नरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
सशस्त्रका सहायक प्रवक्ता सैलेन्द्र थापाका अनुसार सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपुर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेशक्याम्पतर्फ गएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित आज बिहानसम्म १ सय ६२ जनाको उद्धार गरेको हो । बाक्लो हिउँ परेका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरीको सहायताले उद्धार गरिएको हो ।
निरन्तर प्रयासपछि वेशक्याम्प हिँडेका केही पर्यटकलाई बाटोबाट नै फर्काइएको थियो । हिजो बुधबार मात्रै बेशक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो । उद्धार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित रूपमा राखिएको छ ।
माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क नभए पनि आज साँझसम्म सबै जना परिवारसँग फोन सम्पर्कमा आउने सशस्त्रले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२