पाल्पा । विभिन्न समयमा गाई जात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, भगवती जात्रा निकालिने तानसेनमा विहीवार हिजो भने तरकारी जात्रा निकालिएको छ ।
सडकमा तरकारी जात्रा निकालेको देखेपछि तानसेनबासी अचम्मित भएका छन् ।
शरीरभरि विभिन्न प्रकारका तरकारीको कपडा लगाएर एक युवा र युवती तानसेन बजारमा देखिए । शिरदेखि पाउसम्म विभिन्न थरीका तरकारी प्रदर्शन गर्दै हिँडेका युवायुवतीसँग भने तानसेन बजारमा फोटो खिच्ने र खिचाउनेहरूको भीडभाड नै देखिन्थ्यो ।
युवा, युवतीको शरीरभरि तरकारी प्रदर्शनले तानसेनबासी सबैलाई जिज्ञासु बनाइदियो । तानसेन बजारमा आउने स्थानीय किसानका सबै खाले तरकारी शरिरका विभिन्न भागमा लगाएर प्रदर्शन गरिएको थियो ।
‘यस्तो खालको जात्रा कहिल्यै देखिएको थिएन । जीवनमा पहिलो पटक देखियो ।’ तानसेन विशाल बजारमा मासु पसल सञ्चालन गर्दै आएका गोकुल पौडेलले भन्नुभयो ।
तानसेनको बसपार्क टुँडिखेल, भिमसेनटोल, नारायाणस्थान, असनटोल शीतलपाटी, मखनटोल हुलाक चोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारीको जात्रा प्रदर्शन गरिएको थियो ।
कलाकारद्वय गोकुल सारु र नानु मगरले शरीरभरि आलु, लसुन, प्याज, टमाटर, भिन्डी, करेला, लौका, बन्दा, काउली, बेगन, सेमी, बोडी, पर्वरलगायतका तरकारी शरिरभरी लगाएर जात्रा देखाउनुभएको थियो ।
मिलनसार उद्यमी महिला सहकारी संस्थाले तानसेन होलाङ्दीमा सञ्चालन गर्दै आएको तरकारी थोक बजारको प्रचार-प्रसार गर्न, उपभोक्तालाई स्थानीय ताजा सफा तरकारीको जानकारी दिन नयाँ शैलीबाट प्रचार-प्रसार अयिभान गरिएको संस्थाका अध्यक्ष कमला भण्डारीले बताउनुभयो ।
संस्थाले दैनिक १० टन तरकारीको कारोबार गर्दै आएको जनाएको छ ।
अहिले पाल्पाको तरकारी बुटवल बजारमा पुग्ने, सोही स्थानबाट विभिन्न भारतीय विषादीयुक्त तरकारी मिसिएर पुनः तानसेनको बजार आउँदा व्यापारीदेखी उपभोक्तासम्म ५० प्रतिशतसम्म लागत महङ्गो पर्ने स्थिती रहेकाले पाल्पाको तरकारीलाई सिधै पाल्पामै खपत गरौँ, बढी भएको मात्र बाहिर पठाऔँ भन्ने सन्देश दिन यो तरकारी प्रदर्शन गर्दै तानसेन बजारमा हिडेको रेडाका बजार विकास अधिकृत निर्प परियारले बताउनुभयो ।
संस्थासँग अहिले पाल्पाका करीव १८ सय किसान जोडिएका छन् ।
उनीहरूले उत्पादन गरेको तरकारी ओजन प्रविधिबाट सफा गरी उपभोक्ताको घर-घरमा पुर्याउनको लागि नयाँ तरीकाबाट कलाकारहरुको प्रयोग गरेर उपभोक्ताहरुको ध्यान तान्ने काम गरेको रेडा पाल्पाका तरकारी प्रसोधन केन्द्रका प्रबन्धक संजित बहादुर कुवँरको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८१, ०९:५१