काठमाडौँ । पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउन प्रेस काउन्सिल नेपालले काउन्सिलका सदस्य भीमलाल श्रेष्ठको संयोजकत्व तथ्य जाँच कार्यदल गठन गरेको छ ।
काउन्सिलका सदस्यद्वय कुमारी निमा काफ्ले र बालकृष्ण अधिकारी सदस्य रहेको तथ्य जाँच कार्यदलले तिहारको विदा लगत्तै काम सुरु गर्ने तयारी गरेको छ ।
असोजको अन्तिम साता गठन भएको कार्यदलले तिहारपछि काम सुरु गर्ने काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले बताउनुभयो । उहाँका अनुसार जेन जी आन्दोलनपछि भ्रामक तथा मिथ्या खबर आउनेक्रम बढेपछि काउन्सिलले तथ्य जाँचको तयारी गरेको हो ।
यसबीचमा तथ्यजाँचको क्षेत्रमा काम गर्दै आएका सरोकारवालासँग पनि छलफल गर्ने तयारी काउन्सिलको छ ।
सीआईएनको साप्ताहिक कार्यक्रम ‘हेलो सांसद’ मा यसअघि गरिएको सार्वजनिक छलफलमा काउन्सिल सदस्य काफ्ले र मुख्य अधिकृत भुसालले आफूहरूले चाँडै मिथ्या खबर फैलिन नदिने बारेमा संस्थागत रूपमा कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
सीआईएनसँग कुराकानी गर्दै भुसालले काउन्सिलले तथ्यजाँच कार्यदल गठन गर्दा पनि उतिबेला भएको छलफल, आएका विषयवस्तु, गाम्भीर्यताबाट प्रेरित तथा प्रभावित भएको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) मा भएका प्रावधानहरूको स्मरण गराउंदै वर्तमान बदलिंदो परिस्थितिमा संयमित भएर तथ्यपरक सामग्री सम्प्रेषण गर्न पत्रकार तथा आमसञ्चार माध्यमलाई अपिल गरेको छ ।
सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुने तथा घृणाजन्य, हिंसा भड्काउने खालका अभिव्यक्तिलाई प्राथमिकता दिएर सामग्री प्रकाशन / प्रसारण नगर्न/नगराउन काउन्सिलले भनेको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२