काठमाडौँ । जेन जीको आन्दोलनपछि उनीहरुको माग सम्वोधनका लागि पनि प्रतिनिधि सभाको चुनाव हुनैपर्ने ठानेर सरकारले दुई पक्षीय तथा बहुपक्षी छलफल चलाएको छ ।
नेकपा एमालेलगायतका दलहरूले शान्ति सुरक्षाको सुनिश्चित गर्न माग गर्दै आएका छन् ।
चुनावको वातावरण बनाउन राष्ट्रपति र प्रधानमन्त्रीस्तरबाट छलफल निरन्तर भए पनि जेन जी आन्दोलनको समयमा लुटिएका हतियार, गोली र सुरक्षाकर्मीको पोसाक सबै फिर्ता भएको छैन ।
संविधान संसोधन गरेर जेन जीका माग पूरा गर्ने बारेमा दलहरुले प्रतिबद्धता जनाउन सकेमा चुनाव र जेनजीका माग पूरा गर्न सजिलो हुने संविधान सभा सदस्य तथा नेकपा एमालेका स्थायी समिति सदस्य डा विन्दा पाण्डेले सीआईएनसँग बताउनुभयो ।
पूर्व न्यायाधीश बलराम केसीले संविधान संसोधनका लागि सरकारले हतारमा नभइ सचेततापूर्वक कदम चाल्नुपर्ने बताउनुभयो ।
‘आवश्यक कानुन वा कुनै व्यवस्था हटाउन या थप्नका लागि पनि सरकारले सावधानी अपनाउनुपर्छ । अहिले हतारमा निर्णय गर्दा न्यायपालिकाले उल्ट्याउने सम्भावना पनि हुन्छ ।’ केसीले भन्नुभयो, ‘प्रतिनिधि सभालाई प्रभावकारी बनाउन सांसदको योग्यताका बारेमा पनि व्यवस्था गरिनुपर्छ । संविधानमै यस्तो व्यवस्था राखिएको भने पालना गर्न बाध्यकारी पनि हुन्छ ।’
दलहरुले सामूहिक रूपमा प्रतिबद्धता गर्ने हो भने प्रतिनिधि सभाको चुनावपछि संविधान संसोधनमा कुनै अवरोध नहुने विश्लेषक पुरञ्जन आचार्यको भनाइ छ ।
तर प्रतिनिधि सभाको घोषित निर्वाचन सफल पार्नका लागि सुरक्षा निकायको आत्मबल बढाउन माग र सुझाव पनि दलहरुले दिइरहेका छन् ।
सीआईएनसँग कुराकानी गर्दै विश्लेषक जैनेन्द्र जीवनले सरकाले सुरक्षाकर्मीको मनोबल बढाउनेतर्फ ध्यान दिँदै दलहरुसँगको संवादलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२