काठमाडौँ । इजरायल सरकारले हमासको कब्जामा रहेका बेला मारिएका नेपाली युवा बिपिन जोशीको शव नेपाल पठाउँदै आशा र सम्भावनायुक्त निर्दोष युवाको जीवन निकै छिटो चुँडिएको बताएको छ ।
हिजो इजरायलको बेन गुरियन विमानस्थलमा विशेष शोक समारोहपछि बिपिनको शव नेपाल पठाइएको छ ।
त्यसपछि इजरायलको परराष्ट्र मन्त्रालयले निकालिएको विज्ञप्तिमा बिपिनको आत्माको चीर शान्तिको कमना गरिएको छ ।
"बिपिन जोशी केवल २३ वर्षका थिए। कृषि सिक्न र उज्जवल भविष्य बनाउनका लागि नेपालबाट इजरायल आएका विद्यार्थी। गत अक्टोबर ७ मा हमासले उनलाई किब्बुट्ज अलुमिमबाट अपहरण गरी गाजामा बन्धक बनाएको थियो, जहाँ उनको हत्या गरियो।" विज्ञप्तिमा भनिएको छ ।
बिपिन जोशीको शव दिउँसो १ बजेपछि नेपाल आइपुग्ने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२