काठमाडौँ । हमासको नियन्त्रणमा रहेका बेला मारिएका नेपाली युवा बिपिन जोशीको शव नेपाल ल्याउँदा इजरायलको विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष कार्यक्रम गरिने इजरायल सरकारले बताएको छ ।
इजरायलको परराष्ट्र मन्त्रालयले गएराति निकालेको विज्ञप्तिमा यस बारेमा जानकारी दिइएको हो ।
इजरायलको परराष्ट्र मन्त्रालयका महानिर्देशक इडेन बार-तालले बिपिन जोशीको शव नेपाल पठाउने तयारी बारेमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग वार्ता गर्नुभएको थियो ।
महानिर्देशक बार-तालले हमासद्वारा बिपिनको निर्मम हत्या गरिएको उल्लेख गर्दै यस घटनाप्रति दुःख प्रकट गर्नुका साथै इजरायलको तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति समवेदना व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
बिपिन जोशीको सम्झनामा इजरायलको विमानस्थलबाट उनको शव ल्याउने बेलामा र शव नेपाल आइपुगेपछि दुवै देशमा शोक सभाको आयोजना गरिने जानकारी दिइएको छ ।
दुबै कार्यक्रममा इजरायलका राजदूत तथा विशिष्ट अधिकारीले सहभागिता जनाउने भनिएको छ ।
बार-तालले इजरायलले बिपिन जोशीका परिवारलाई इजरायली नागरिकहरूका परिवारहरूले प्राप्त गर्ने समान अधिकार र सहयोग प्रदान गरिने पनि जानकारी गराउनुभएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०८२