काठमाडौँ । नेपाल सरकारले हमासको नियन्त्रणमा रहँदा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको छ।
परराष्ट्र मन्त्रालयले आज साँझ एक विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको हो।
मन्त्रालयका अनुसार आज अपरान्ह परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका डाइरेक्टर जनरल इडेन बार तलसँग टेलिफोन संवाद गर्नुभएको थियो।
कुराकानीका क्रममा तलले नेपाली नागरिक विपिन जोशीको दु:खद निधन भएको औपचारिक जानकारी गराउँदै मृतकप्रति इजरायल सरकारको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै जोशीका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
हमासले हिजो रेडक्रसमार्फत विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेपछि शवको पहिचान भइसकेको बताइएको छ। इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिहरूले आज तेल अवीभस्थित नेशनल सेन्टर अफ फरेन्सिक मेडिसिन पुगेर शवको थप पुष्टि गरेका थिए।
मन्त्रालयले जनाएको अनुसार, नेपाली दूतावासले त्यहाँका सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गर्दै शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको छ।
विपिनको शव नेपाल ल्याइसकेपछि पनि उनको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन तथा परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा र अन्य सुविधाका लागि उचित पहल निरन्तर जारी राखिने मन्त्रालयले जनाएको छ।