किरण कर्ण
धनुषा । लगातार परेको पानीका कारण मधेश प्रदेशको धनुषाको कमला नदी, जलाद नदी, रौतहटको बागमती र लालबकैया नदीहरूमा पानीको सतह तीव्र गतिमा बढेसँगै जिल्लाका नदी किनार र अस्थायी बस्तीहरूमा बाढीको जोखिम उच्च बढेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अति ठूलो पानी पर्भाने चेतावनीपछि जिल्लामा उद्धार र सतर्कताको तयारी तीव्र पारिएको छ।
विपद् व्यवस्थापन समितिको निर्देशनमा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्रका सबै निजी विद्यालयहरू असोज १९ र २० गते बन्द हुने भएका छन् ।
लगातार परेको पानीका कारण उत्पन्न जोखिम र विद्यार्थी–अभिभावकको सुरक्षालाई मध्यनजर गर्दै विद्यालयहरू दुई दिनका लागि बन्द कगर्ने निर्णय गरिएको हो ।
निजी विद्यालय सञ्चालकहरूको संगठन एनप्याब्सन जनकपुरधाम र प्याब्सन जनकपुरधामले संयुक्त रूपमा शनिबार सूचना जारी गर्दै विद्यालयहरू अस्थायी रूपमा बन्द रहने जानकारी दिएका हुन् ।
जनकपुरधाम र आसपासका क्षेत्रमा पानी परिरहेको छ ।
सडकका विभिन्न भागमा पानी जमेको, विद्यालयपरिसरमा हिलो र फोहोरको मात्रा बढेको र साथै यातायातमा अवरोध भएका कारण विद्यार्थीहरूको विद्यालय आवतजावतमा समस्या भएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२