काठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रको आज आठौँ दिन, महागौरीको पूजा गरेर मनाइँदैछ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको आज विधिपूर्वक पूजा गरिन्छ ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ ।
आजको दिन विभिन्न शक्तिपीठहरूमा बलि दिइन्छ । सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ ।
काठमाडौँ उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायतका शक्तिपीठमा बलिसहित पूजाआजा गरिन्छ ।
उपत्यकाबाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नजस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नालाभगवती र पलान्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरूमा पनि बलिसहित पूजा तथा आराधना गरिन्छ ।
पशुबलि नचढाउनेहरूले भने पूजा कोठामा आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदिलाई बलि चढाइ पूजा गर्न सक्ने अन्तराष्टिय पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव लक्ष्मण पन्थीले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२