काठमाडौँ । तुइन खोला पुल नजिक खसेको पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
आज बिहान करिब ७ बजेतिर खसेको सानो पहिरो तत्काल पन्छाएर सडक खोलिएको थियो। तर दिउँसो साढे १२ बजेतिर फेरि ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको थियो ।
पहिरो पन्छाउन सडक डिभिजन कार्यालय भरतपुरले ३ वटा उपकरण प्रयोग गरेको थियो । तर पहिरो निरन्तर झरिरहेकाले पन्छाउने काममा समय लागेको भए पनि सडक सुचारु भएको छ ।
चाडपर्वका लागि यात्रा गरिरहेका सयौँ यात्रुहरू यस पहिरोका कारण बीच बाटोमै अलपत्र परेका थिए ।
तर पानी परेको खण्डमा भने राति पुनः पहिरो जाने जोखिम रहेकाले आवश्यक तयारी भने गरिएको कार्यालयका प्रमुख नारायण प्रसाद लामिछानेले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार पहिरो पन्छाउनका लागि आवश्यक पर्ने उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
मौसमविद्ले भने आज राति देशभर धेरै ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकाअनुसा हाल कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम खालको पानी परिरहेको छ ।
हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर भएको भए पनि स्थानीय वायूको समेत प्रभाव रहेको कारण केही स्थानमा पानी परिरहेको हो ।
प्रकाशित मिति: सोमबार, असोज १३, २०८२