बर्दिया । लागुऔषधको कुलतमा फसेका युवाहरुका कारण लैङ्गिक हिंसाका घटना बढेको कार्यक्रममा सहभागिहरुले बताएका छन्।
महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बर्दियाको बढैयातालमा हिजो शुक्रबार गरेको समुहगत छलफलका सहभागीहरुले समाजमा लागुऔषधको कुलतमा फसेका युवाहरुका कारण समाजमा लैङ्गिक हिंसा बढेको बताएका छन् ।
उनीहरुले किशोर तथा किशोरीले समेत लागुऔषधको सेवन गरी विभिन्न हिंसाका घटना घटाएको बताएका थिए । महिलाहरुले बाल विवाह, बहु विवाहको समस्याले पनि किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन् ।
सहभागीहरुले लैङ्गिक हिंसाविरुद्ध स्थानीय सरकारले कानून नै निमार्ण गरि प्रभावकारी कार्यन्वयन गर्नुपर्ने सुझाव दिएका थिए । छलफलमा महिला तथा बालिकासंग विभिन्न समस्याहरुका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा हिंसा निगरानी समुहका संयोजक प्रेम त्रिपाठी, महिलाहरु माया सापकोटा, सिता चौधरी, सविता परियार, निशा थारु, शकिना खान, जामेरुन खाँ, कृपानन्द झाँलगायतले बोल्नुभएको थियो ।
महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्र्तगत संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधी निमार्ण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२