काठमाडौँ । सरकारले दसैँ, तिहारलगायतका चाडपर्वमा हवाइ टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेलामा हवाइ भाडादर नबढाउन सचेत गराइएको बताउनुभएको छ ।
अहिलेको विषम अवस्था, सडकको जोखिमलगायतको मौका छोपेर हवाइ टिकटको भाडा महङ्गो भएको गुनासो आएको भन्दै सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाइ टिकट बिक्री गरी यात्रुलाई राहत दिन सबै पक्षलाई अनुरोध गरिएको प्राधिकरणका सूचना अधिकारी भूलले जानकारी दिनुभयो ।
यातायात व्यवस्था विभागले पनि चाडबाडको समयमा गाडी भाडामा कालोबजारी नगर्न आग्रह गरेको छ ।
पूर्व निर्णय, स्वीकृति भाडादर तथा प्रचिलत कानुनको प्रतिकूल हुने गरी बढी भाडा असुल्ने, टिकटको कालाबजारी गर्ने र टिकट बिक्री वितरण असहज बनाएको गुनासो नागरिकस्तरबाट आएको भन्दै विभागले सो काम तत्काल रोक्न र कानुन विपरितका गतिविधि भएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२