काठमाडौँ । सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सीजेडओपी) ले गरेको एक अध्ययनले जेन जी आन्दोलनपछि बालबालिका र युवामा मानसिक आघात तथा विश्वासको अभाव देखाएको छ ।
सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बालअधिकारको क्षेत्रमा कार्य गर्ने १२ वटा संस्थाहरूसँग मिलेर गरेको अध्ययनले हालै नेपालमा भएको जेन जी आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको देखाएको हो ।
सुरक्षाकर्मीहरूले गरेको अत्यधिक बल प्रयोगका कारण बालबालिका र युवाहरुको मृत्यु भएको, घाइते भएका, मनपरी रुपमा पक्राउ गरिएको र उनीहरुमा गहिरो मानसिक आघात परेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोग का अध्यक्ष माननीय तपबहादुर मगरलाई बुझाइएको छ। यसले स्वास्थ्य, मनोसामाजिक सहयोग, सुरक्षा, कानुनी सहायता र शिक्षाजस्ता क्षेत्रमा तत्काल सहयोगको आवश्यकता रहेको देखाएको छ ।
अध्ययन प्रतिवेदनले विशेषगरी प्रहरी र बालबालिका तथा युवाहरुबीच गहिरो अविश्वास भएको तथ्यहरु प्रस्तुत गर्दै, आगामी दिनमा बालअधिकार उल्लङ्घन रोक्न शान्ति निर्माण र द्वन्द्व रूपान्तरणको आवश्यकता रहेकोमा जोड दिइएको छ ।

“राजनीतिक अशान्तिको समयमा बालबालिकालाई कहिल्यै पनि लक्षित गर्नु हुँदैन । सरकारले तुरुन्तै आवश्यक कदम चालेर आफ्नो जिम्मेवारी सुनिश्चित गर्न, अत्यधिक बल प्रयोग अन्त्य गर्न, पीडितहरूलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन र जेन जी आन्दोलनका क्रममा भएको हिंसा तथा राज्यद्वारा भएको क्रूरताबारे स्वतन्त्र छानबिन शुरु गर्नु आवश्यक छ ।” सेभ द चिल्ड्रेन नेपालकी राष्ट्रिय निर्देशक तारा छेत्रीले भन्नुभयो ।
अध्ययनका मुख्य सिफारिसहरूमा, राज्य हिंसाबाट उत्पन्न आघात र पुस्तान्तरगत असर सम्बोधन गर्न बालमैत्री मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवाहरूलाई सुदृढ बनाउने, बालबालिका, युवा र राज्य संयन्त्रबीच विश्वासको पुनःस्थापना गर्न शान्ति निर्माण र द्वन्द्व रूपान्तरणका दृष्टिकोणलाई समावेश गर्ने, राज्यका सुरक्षा निकाय र सुरक्षाकमीलाई बालअधिकारबारे संवेदनशील बनाउने र जवाफदेही प्रणालीलाई बलियो बनाउने, साथै नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि १९८९ ( UNCRC) र अन्य अन्तर्राष्ट्रिय मानवअधिकार सन्धिहरू अन्तर्गतका आफ्ना प्रतिबद्धताहरूलाई पुनः पुष्टि गर्ने कुरा समावेश छन ।
“यस अध्ययन प्रतिवेदनमा उल्लेख भएका मृत्यु र घाइतेसम्बन्धी तथ्यगत विवरणहरु नेपालको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानून अन्तर्गतका प्रतिबद्धता, साथै बालबालिकाको अधिकार र उनीहरूको सुरक्षाप्रति राज्यको प्रतिबद्धताको गम्भीर उल्लङ्घन हुन् । ,” बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलले भन्नुभयो।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२