काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त, स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गर्न सुझाव दिनुभएको छ ।
प्रधानमन्त्रीसँग आफूले टेलिफोनमा कुरा गर्न खोजेको भए पनि त्यो सफल नभएका कारण सामाजिक सञ्जालबाटै उहाँले सुझाव दिनुभएको हो । सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित हुन नेता श्रेष्ठको सुझाव छ ।
भदौ २३ गते र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही गर्न, ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउन र भ्रष्टाचार विरुद्ध आफ्नो पार्टी नेतृत्वको सरकारले थालेका कारवाहीलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभा नरहेको अवस्थामा सङ्घीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिन पनि उहाँले भन्नुभएको छ ।
"तपाईँको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ। अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौँ।" नेता श्रेष्ठले लेख्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२