दसैँका बेला यात्रुलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले ६ वटा निर्णय गरेको छ।
बैठकमा सचिव केशव शर्मा, यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडा अटोमोबाइल्स एसोसिएसनलगायतका प्रतिनिधि सहभागी थिए। यात्रुको सुरक्षित यात्रा र गुनासो व्यवस्थापनका लागि उच्च स्तरीय समिति गठन गरिने निर्णय भएको छ ।
बैठकले चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका सरोकारवालाहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यात्रुको यात्रा सुरक्षित र सहज बनाउनुका साथै गुनासोहरूको तत्काल सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा एक उच्च स्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको छ। यस समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखाका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष लगायतका सरोकारवालाहरू रहनेछन्।
यस्तै क्षति भएका सार्वजनिक सवारीसाधनको उचित क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाइनेछ। ट्राफिक प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराउने, आन्दोलनमा लुटिएका हतियार वा सामग्री सवारीमा प्रयोग नहोस् भनेर सूचना जारी गर्ने समेत निर्णय गरिएको छ ।
तर, दसैंको अग्रिम टिकट कहिले खुल्ने भन्नेबारे बैठकले निर्णय गरेको छैन।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२