काठमाडौँ । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेन–जी आन्दोलनको क्रममा कारागारबाट बाहिरिएका कैदी र थुनुवालाई अविलम्ब सम्पर्कमा आउन आग्रह गरेको छ।
प्रशासनले कानुन र प्रक्रिया पालना गर्दै तुरुन्तै आत्मसमर्पण गर्न अपिल गरेको हो। साथै, सम्पर्कमा नआए कानुनअनुसार थप सजाय हुने चेतावनी पनि दिएको छ।
जेन–जी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका केही कैदी नक्खु कारागारबाट बाहिरिएका थिए। लामिछानेले आफूलाई कानुनी प्रक्रिया पूरा गरेर छाडिएको दाबी गरेका थिए ।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छ,
“फरार बन्दीले तुरुन्त सम्पर्क गरी आत्मसमर्पण गरेर सार्वजनिक शान्ति र सुव्यवस्था कायम गर्न सहयोग गर्नुपर्छ। अन्यथा, कारागार ऐन २०७९ तथा प्रचलित कानुनबमोजिम कडाइका साथ कारबाही हुनेछ।”

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२