जेन–जीले गरेको विरोध प्रदर्शनका क्रममा भएको अप्रिय घटनाप्रति सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबले दुःख व्यक्त गरेको छ ।
सङ्घले एक विज्ञप्ती जारी गर्दै नागरिकको शान्तिपूर्ण रूपमा भेला हुन पाउने, आफ्नो विचार व्यक्त गर्न पाउने र सरकारका गलत कदमको विरोध गर्न पाउने संविधानप्रदत्त हक रहेको स्मरण गराउँदै विशेषतः किशोरकिशोरी, युवा तथा विद्यार्थी सम्मिलित प्रदर्शनमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएको मुठभेटले भएको जनधनको क्षती र राज्यपक्षबाट भएको दमनको भत्र्सना गरेको हो ।
सङ्घले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सूचना दिएर किशोरकिशोरी, विद्यार्थी तथा युवाहरूद्वारा गरिएको प्रदर्शनको क्रममा लिनुपर्ने सुरक्षा सतर्कता र सावधानीको आधारभूत दायित्वबाट राज्यपक्ष पन्छिन मिल्दैन, प्रदर्शनको क्रममा आन्दोलनरत समुहले अपनाईनुपर्ने सजकता, सावधानी र राज्यपक्ष सुव्यवस्थित हनु पर्नेमा शान्तिपूर्ण आन्दोलन एकाएक अनियन्त्रित बन्नु र नियन्त्रणको क्रममा घटेका घटनाहरू लोकतान्त्रिक समाजको लागि अस्वभनीय र दुखद देखिन्छ ।’
आन्दोलनको क्रममा गोली लागि कम्तिमा १९ को मृत्यु र रिर्पोटिङ्गको क्रममा रहेका चार जना पत्रकार र अन्य ४०० भन्दा बढी घाइते भएको घटनालाई सङ्घले नागरिक अधिकार र लोकतन्त्रमाथिको सुनियोजित आक्रमणका रूपमा लिएको जनाएको छ ।
आन्दोलनरत् पक्षलाई संयमता अपनाउन र सरकारले दमनको बाटो छाडी प्रदर्शनकारी युवा समूहसँग तत्काल वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सङ्घका कार्यकारी महासचिव भक्त स्याङतानले आग्रह गर्नुभएको छ ।
सम्पूर्ण मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकार र आम नागरिकलाई यी सवालमा एकजुट हुन र लोकतान्त्रिक मुल्यमान्यता एवं अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धनमा लाग्न सङ्घले अपिल गरेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२