काठमाडौँ । मुलुकमा सुशासनको माग गर्दै आज देशभर जेनजी अर्थात २८ वर्षभन्दा कम उमेरका युवाहरूको अग्रसरतामा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म १९ पुगेको छ ।
जेनजीहरूले काठमाडौँसहित पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङ लगायतका सहरमा प्रदर्शन गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको सङ्ख्या १९ पुगेको पुष्टि गरेको छ ।
काठमाडौँको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेज अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
देशभरका विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत रहेको मन्त्रालयको भनाइ छ ।
नेपाल प्रहरीले भने केही घाईतेहरु उपचारपछि घर फर्केको जनाएको छ । हाल अस्पतालहरुका करिब एकसयको हाराहारीमा उपचार गराईरहेको केन्द्रिय प्रहरी प्रवक्ता विनोद घिमिरेले सीआईएनसँग बताउनुभयो ।
हालसम्म मृतकहरूमध्ये ४ जनाको मात्रै परिचय खुलेको छ । सुनसरीको ईटहरीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका सरकारी र निजी गरी ११ अस्पतालमा २ सय ५६ जना घाइतेहरूको उपचार भइरहेको छ ।
मन्त्रालयमा अनुसार सबै भन्दा बढी सिभिल अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ ।
ट्रमा सेन्टरमा ४९ जनाको उपचार भइरहेको छ । मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक विरामीलाई हेर्न निर्देशन दिएको छ ।
वीर अस्पतालमा ६, एभरेष्ट अस्पतालमा ३४, पाटन अस्पतालमा ४ जना र काठमाडौँ मेडिकल कलेजमा ३२ जनाको उपचार भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालमा १८, नर्भिक अस्पतालमा ३ जना घाइते छन् । कास्कीमा गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना घाइतेको उपचार भइरहेको छ । झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले टेकु अस्पतालबाट ४ जना चिकित्सक सहित ६ जना स्वास्थ्यकर्मीलाई सिभिल अस्पातलको इमर्जेन्सीमा खटाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२