जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कफ्र्यू लगाइएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अपारान्ह साढे १२ बजेदेखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गर्नुभएको हो ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाको बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुली बजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कफ्र्यू लगाएको छ ।
त्यसैगरि बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वरदेखि दक्षिण सङ्खमुल ओरालो हुँदै शङ्खमुल पुलसम्म कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेरा उगर्न नपाउने गरि कफ्र्यू आदेश जारी गरेको हो ।
केही समय अघि प्रदर्शनमा उत्रिएका जेनजीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका थिए । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ ।
जेनजी अर्थात २८ वर्ष मुनिका युवाको विरोध प्रदर्शन भनिएको यो अभियानले सुशासन कायम गरिनुपर्ने, जनताले उठाएको करको दुरुपयोग रोक्नुपर्ने, नेताको सन्तान भएकै कारण पाइरहेको सुविधा तथा सदासयताको विरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२