काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक ५ दिने भ्रमण सकेर स्वदेश फर्किदै हुनुहुन्छ ।
गत शनिवार उहाँ राष्ट्रपति सी चिनपङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन जानू भएको थियो ।
उहाँ चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई हुनुभएका हो । राति करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँ आईपुग्नुहुने छ । प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गर्नुभएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्नुभयो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
उहाँले शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नुभएको थियो । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ।
प्रधानमन्त्री ओलीसँग उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२