चालू आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा कारोबार ५५ करोड रुपैयाँले घटेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा देशभरका १३५ मालपोत कार्यालयबाट १ लाख ४ हजार २ सय १८ वटा घरजग्गा कारोबार भएको छ भने उक्त कारोबारबाट सरकारले कुल ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २ सय ४२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
गत आर्थिक वर्षमाा भने सोहि अवधिमा १ लाख २७ हजार २०६ वटा घरजग्गा कारोबार भएको थियो भने उक्त कारोबारबाट सरकारले ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष कारोबार घट्नुको कारणबारे बताउनुहुदै विभागका उपनिर्देशक खिमानन्द आचार्यले बर्षाको महिनामा भएको कारण घटेको हुन सक्ने र आगामी दिनमा बढ्न सक्ने बताउनुभयो ।
विभागकाअनुसार साउनमा सबैभन्दा धेरै कारोबार झापा, सुनसरी, भक्तपुर, ललितपुर र काठमाडौंबाट भएको छ ।
यसैबिच, सरकारले घरजग्गा कारोबारका लागि इजाजतपत्र दिने प्रक्रिया खुला गरेको छ ।
सरकारले भूमिसम्बन्धी नियमावलीको आठौँ संशोधन गर्दै व्यवसायिक घरजग्गा कारोबारको लागि इजाजत दिने व्यवस्था गरेको हो। संशोधनमार्फत घरजग्गा कारोबारका लागि इजाजत पत्र प्राप्त गर्न सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । इजाजत पत्र प्राप्त गर्न एक पटकमा ५ करोडभन्दा कम कारोबार गर्नेको संस्थाको हकमा ५ लाख रुपैयाँ र सोभन्दा धेरै कारोबार गर्नेको हकमा १० लाख रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२