वीरगञ्ज। वीरगञ्जमा हैजाका कारण विरामी परेकामध्ये ९५ जना अझैँ उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२२ जना आईसीयू, ६ जना एचडीसीयू र ६७ जना वार्डमा उपचाररत छन् ।
यही भदौ ६ गते वीरगञ्जस्थित अस्पतालहरूमा उपचारका लागि आएका झाडापखालाका लक्षण देखापरेका बिरामीहरूको नमूना सङ्कलन गरी जाँच गर्दा ७१ जनामा हैजा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हैजा नियन्त्रण तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सीआईएनसँग बताउनुभयो ।
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य सङ्गठन नेपाल सम्मिलित कार्यदलले प्रभावित क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समितिसँग उपचार सेवा, फिल्ड अनुगमन र रोग नियन्त्रणका लागि काम गरिरहेको जनाइएको छ ।
हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि पानीको स्रोतको परीक्षण, कोलेरा परीक्षण किट तत्काल उपलब्ध गराउने, लक्षणका आधारमा सङ्क्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, निजी अस्पतालमा पनि निःशुल्क परीक्षणको व्यवस्था गर्ने तथा आवश्यक जनशक्ति परिचालन गर्ने निर्णय पनि सरकारले गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२