काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गौर घटनाको बारेमा गरिने अनुसन्धानमा सहयोग गर्ने बताउनुभएको छ ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले सरकारले अनुसन्धान अघि बढाए आफूले सहयोग गर्ने बताउनुभएको हो । सर्वोच्चको निर्णयलाई सम्मान गर्ने भन्दै घटना भएको बेलामा पनि सरकारले अनुसन्धान गरी तथ्य बाहिर ल्याइसकेको उहाँको भनाइ छ ।
१८ वर्षअघिको गौर घटनाको छानबिन अघि बढाउन सर्वोच्च अदालतले हिजो परमादेश दिएको थियो ।
गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले अनुसन्धान गर्न भनेको हो ।
२०६३ को चैत्र ७ गते रौटहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ताको मृत्यु भएको थियो ।
त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाँउ कार्यक्रम आयोजना गरेका थिए । तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा यादव हुनुहुन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२