काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर मिलन चोकस्थित काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलले आफ्ना विद्यार्थीलाई नेपालको संसदीय प्रणालीको व्यवहारिक जानकारी दिनका लागि नमुना सङ्घीय संसद् कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीलाई नेपालको संसदीय प्रणालीबारे बुझाउनुका साथै विद्यार्थीमा राजनीतिक सचेतना बढाउने उद्धेश्यले सङ्घीय बहसमा युवा कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । युथ इन फेडेरल डिस्कोर्स संस्थासँगको सहकार्यमा आयोजित नमुना सङ्घीय संसद् कार्यक्रममा उक्त विद्यालयका आठ कक्षाका विद्यार्थीलाई संसदीय प्रणालीको अभ्यास गराइएको विदालयका प्रधानाध्यापक सुनिता पौडेलले जानकारी दिनुभयो ।
दुई दिने कार्यशाला र दुई दिने प्रयोगात्मक संसद सत्रमार्फत विद्यार्थीले शासन प्रणालीको संरचना, विधि र प्रक्रियाबारे प्रत्यक्ष ज्ञान प्राप्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आजका विद्यार्थी भोलीको नीति निर्माण र कार्यान्वयनको तहमा पुग्ने भएकाले समग्र राज्य सञ्चालनका आधारभूत विषयबस्तुबारे जानकारी पाउन आवश्यक रहेको बताउनुभयो । विद्यालयको यो प्रयास भविष्यमा कुशल राजनीतिज्ञ र नेतृत्व विकासमा सहयोगी हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रमको शुभारम्भ गर्दै विद्यालयकी प्रधानाध्यापक पौडेलले संसद्, यसको गठन प्रकृया, कार्य, तथा संसदमा उठ्ने बहस र संसदीय व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । आजका विद्यार्थी नै भोलीको देश हाँक्ने ठाउँमा पुग्ने भन्दै उहाँले विद्यार्थी बेलादेखि नै राजनीतिक चेत र राज्य सञ्चालनको आधारभूत जानकारी परिपुर्ति गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो । यस्तै कार्यक्रमको समापनमा नेपाली काङ्ग्रेसकी पूर्वसांसद डिला संग्रौला पन्तले विद्यार्थीलाई नेतृत्व गर्न प्रेरित गर्नुभयो । यो अभ्यासमा सहभागीलाई ऊर्जा र आत्मविश्वास प्रदान गर्नुका साथै केवल किताबी ज्ञानमा सिमित नभइ जननिर्वाचित संसदबाट कानुन निर्माण, सरकार गठनलगायतबारे व्यावहारिक अभ्यास पाएको बताउनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीले कार्यक्रमबाट नयाँ अनुभव प्राप्त गर्नुका साथै संसदीय परिपाटीबारे आधारभूत जानकारी प्राप्त गरेको बताएका थिए । कार्यक्रमबाट विद्यार्थीले संसद्, संसद्को संरचना, समिति, उपसमिति, दफादर छलफल, पक्ष, प्रतिपक्ष, समिति, सभापति सम्बन्धी जानकारी प्राप्त गर्नुभएको थियो । संसदको कार्यविधि सम्बन्धी छलफल, शून्य समय, विशेष समय, आकस्मिक समय, सैद्धान्तिक छलफल, विधेयक पेस साथसाथै नेतृत्व विकास, राष्ट्र विकासमा राजनीतिको महत्त्व, प्रतिनिधि सभा र राष्ट्रिय सभाको गठन प्रक्रियाको समेत जानकारी प्राप्त गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रमको संसद सत्रमा विद्यार्थीले मानव अधिकार विधेयक, न्याय विधेयक, शिक्षा विधेयकलागयत विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि विद्यार्थीले बहस गर्नुका साथै परिमार्जन र पुनर्लेखन प्रस्ताव राख्दै बहुमतबाट पारित गरेका थिए । विद्यालयका शिक्षकहरूको मार्गदर्शन, विद्यार्थीहरूको सक्रियता ,अतिथिहरूको प्रेरणादायी सहभागिताले कार्यक्रमलाई स्तरीय बनाएको थियो । कार्यक्रमका सहजकर्ता विद्यालयका पूर्व छात्र अद्वैत थापाले यस्ता अभ्यासले भविष्यमा जिम्मेवार, सचेत र लोकतान्त्रिक मूल्य बोकेको पुस्ता निर्माण गर्न मद्दत गर्ने विश्वास ब्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्झना खरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय सञ्चालक कपिलदेव रेग्मी, रञ्जित थापा, सपना खरेलका साथै युथ इन फेडेरल डिस्कोर्स संस्थाकी अध्यक्ष प्रार्थना थापालगायत विद्यालयका अभिभावक र विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२