रसुवा । गएरातिदेखि नेपालतर्फको भोटेकोशी र त्रिशूली नदीमा एक्कासि आएको बाढीका कारण क्षति पुग्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले नदी किनारमा बसोबास गर्नेहरूलाई सतर्क रहन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आज बिहान २ बजेदेखि नै सतर्कता सूचनासहित स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चीनतर्फ ठूलो वर्षा भएको वा अघिल्लो पटकजस्तै हिमनदी फुटेका कारण नेपालमा बाढी आएको हुन सक्ने अनुमान गरिएको बताउनुभयो ।
भोटेकोशीलगायतका नदीको बहाव बढे पनि जलसतह घट्दै गएको उहाँको भनाइ छ ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जल तथा मौसम विज्ञान विभाग र चिनीया पक्षबाटसमेत आगामी केही दिन यस क्षेत्रमा ठूलो पानी पर्ने बारेमा जानकारी दिएका कारण सतर्क रहन सूचना निकालिएको बताउनुभयो ।
नदीको बहाव बढ्न सक्ने हुँदा विपद्को जोखिम हुनसक्ने सम्भावना रहेको भनी आवश्यक पूर्वतयारी र सावधानीका लागि सूचना प्राप्त भएकाले रसुवा जिल्ला भइ बग्ने (भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी/खोला आसपासका) क्षेत्रमा मनसुनजन्य विपद्को जोखिम हुन सक्ने भनिएको छ ।
जोखिमयुक्त क्षेत्रहरूमा बसोबास गर्नु हुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधिन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रसुवाले भनेको छ ।
सम्भावित विपद्बाट रसुवा जिल्लामा सञ्चालित सडक मार्गहरूमा समेत क्षति तथा अवरोध पुग्न सक्ने भएकाले यातायातका साधन सञ्चालन गर्दा र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२