काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आफूहरूलाई अन्याय नहुने गरी काम गर्ने पीडित परिवारले विश्वास व्यक्त गरेका छन् ।
आयोगले काठमाडौँमा गरेको "सङ्क्रमणकालीन न्यायमा पीडित र सरोकारवालाका सवाल" विषयक छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा पीडित परिवार र सरोकारवाला सहभागीका तर्फबाट भीमबहादुर बस्नेत, शम्भु कटुवाल, हरिकृष्ण महर्जन, बहादुर सुनवार, जमुना रोका, शंकर बुढाथोकी, तन कुमारी गुरुङ, लक्ष्मी कोईराला, केशव खनाल, विमला घिमिरे, रुवी श्रेष्ठ, हिरा कुमारी शर्मा, निशा न्यौपाने, विना चौधरी र जनकराज थापाले धारणा राख्नुभएको थियो ।
उनीहरूले आयोगलाई आलोचनात्मक समर्थ रहेको, आयोगको काम हेरेर आफूहरु अगाडि बढ्ने बताउनुका साथै आयोगलाई पीडितले न्याय पाउने गरी काम गर्न अनुरोध पनि गरेका छन् ।
नियमावलीसमेतको विषयमा आयोगमै उपस्थित भएर व्यक्तिगत र संस्थागत रुपमा सुझाव दिने प्रतिबद्धता पनि उनीहरूको छ ।
कार्यक्रममा सहभागी अतिथि शान्तलाल मुल्मी, सुवोधराज प्याकुरेल, प्रा.डा. वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र, शर्मीला त्रिपाठीले आयोगको नियमावली, कोष नियमावली, कार्ययोजना, संगठन तथा व्यवस्थापन सर्वेक्षण लगायतका विषयमा आफूहरुले आयोगलाई सुझाव दिने र ती विषयहरुमा विज्ञ समूहको समेत सुझाव लिई अगाडि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्ष लीला देवी गडतौलाले कार्यशालामा सहभागी भई सुझाव दिनु भएकोमा आभार व्यक्त गर्दै आयोगको नियमावली, कोष नियमावलीको मस्यौदा तयार गरी नेपाल सरकार समक्ष छिटो भन्दा छिटो सिफारिस गर्नु पर्ने जिम्मेवारी बताउनुभयो ।
त्यसअघि नै पीडित तथा सरोकारवालाहरुको सुझावका आधारमा अन्तिम रुप दिने योजना रहेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असार ७, २०८२