काठमाडौँ । सप्तकोशी नदीमा बेपत्ता २ जना गोताखोरमध्ये १ जनाको शव फेला परेको छ ।
आज बिहान खोजी गर्दा जवान हरदेब राजवंशीको शव घटनास्थलबाट करिब ३ किलोमीटर दक्षिणमा फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नम्वर १३ गण पर्सा दरबन्दी भई नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सशस्त्र प्रहरी जवान सुरज साउँदको खोजी कार्य चलिरहेको छ ।
खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डीएसपी विजय हमालको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना र नम्बर ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डीएसपी बिपिन देसारको कमान्डमा २० जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।
खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका प्रशिक्षक डीएसपी पुरुषोत्तम भन्डारीको कमान्डमा ५ जना गोताखोरलाई पनि गयराति नै बजे त्यसतर्फ पठाइएको छ ।
सप्तरी, हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्व तयारी स्वरुप प्रदेशस्तरीय विपद् अभ्यासको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरी, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्वर ७ गण सिरहाबाटसहित संयुक्त टोलीको हिजो अभ्यास शुरु भएको थियो ।
सो क्रममा दिउँसो ३ बजेपछिको समयमा राजबंशी र साउँद बेपत्ता भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०८२