दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक रेडियोलाई समाज रुपान्तरणको सशक्त माध्यमको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका प्रतिनिहरुसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले आमसञ्चारका माध्यमहरुको सबलिकरणमा प्रदेश सरकारले ध्यान दिएको बताउनु भएको हो ।
सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनीका पदाधिकारीहरूले सामुदायिक रेडियोको सशक्तिकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
संघका अध्यक्ष नबिन केसीका अनुसार सामुदायिक रेडियोकर्मीहरूको क्षमता बढाउन तथा कृत्रिम बुद्धिमत्ता (एआई) तालिम सञ्चालन गर्न १२ वटै जिल्लामा कार्यक्रम आवश्यक रहेको, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालित ‘समृद्धिका पाइला’ कार्यक्रमलाई ४८ अङ्कसम्म निरन्तर प्रसारण गर्न पर्याप्त बजेटको व्यवस्था हुनुपर्ने माग राखिएको छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयले सञ्चालन गर्दै आएको ‘प्रदेश सभा सेरोफेरो’ कार्यक्रम १२ वटै जिल्लाका एफएम रेडियोमार्फत प्रसारण गर्न मिल्ने गरी बजेटको व्यवस्था गरिनुपर्ने माग पनि अकोराब लुम्बिनीले राखेको छ ।
संघले प्रदेश सरकार मातहतका कार्यालयहरूले सूचना तथा सञ्चार शीर्षक अन्तर्गतको बजेट अनिवार्य रूपमा स्थानीय रेडियोहरूमार्फत खर्च गर्नुपर्ने व्यवस्था मिलाउन आग्रहसमेत गरेको छ ।
संघले सामुदायिक एफएम. रेडियोहरूको उपकरण बीमा कार्यक्रम सञ्चालनका लागि पनि पहल गरिनुपर्ने माग अघि सारेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०८२