काठमाडौँ । आगामी २४ घण्टामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का पानी पर्ने र हिउँ पर्ने सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक तयारी तथा सतर्कता अपनाउन भनेको छ ।
आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बादल लाग्ने र थोरै स्थानमा आकास गड्याङगुडुङ गर्दै चट्याङ्गसहित हल्का देखि मध्यम खालको पानी पर्ने छ भने हल्का हिउँ पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया आकासमा बादल देखिने छ र केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बादल लागेर केही स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम पानी पर्ने छ ।
राति भने कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बादल लागेर थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम पानी पर्नुका साथै हल्का हिँउ पर्ने सम्भावना छ ।
पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बादल लाग्ने र केही स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम पानी पर्नेछ ।
तराई क्षेत्रमा आंशिकदेखि साधारणतया आकासमा बादल देखिनुका साथै केही स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०८२