आज १८ औँ गणतन्त्र दिवस मनाइरहँदा देशभरका सामुदायिक रेडियोकर्मी र सामुदायिक रेडियोहरूको साझा नेटवर्क (सामुदायिक सूचना नेटवर्क सीआईएन) ले १७ औँ स्थापना दिवस मनाइरहेको छ।
२०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको दिनको स्मृतिमा त्यसको एक वर्षपछि २०६६ जेठ १५ मा सीआईएनको औपचारिक सुरुवात गरिएको थियो।
देशभर फैलिएका सामुदायिक रेडियोहरूका लागि केन्द्रीय समाचार तथा सूचनाको सहज पहुँच सुनिश्चित गर्ने र स्थानीय मुद्दाहरूलाई राष्ट्रिय नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले सामुदायिक रेडियो प्रसारक संघले यो नेटवर्कको सुरुवात गर्यो ।
तत्कालीन संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङले सीआईएनको उद्घाटन गर्दै यसले संविधान निर्माणको प्रक्रियामा जनताको आवाज पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो।
वास्तवमै सीआईएनले गाउँटोलका मुद्दाहरूलाई केन्द्रसम्म जोड्दै पत्रकारितामा गणतान्त्रिक अभ्यासको अनुभव गरायो। संविधानसभाका विषयगत समितिहरूको निर्णयहरू जनतासम्म पुर्याउने कार्यमा पनि यसको भूमिका महत्वपूर्ण रह्यो।
सबै जात, भाषा, धर्म, लिङ्ग, भूगोल र वर्गलाई समेट्ने साझा नेटवर्कका रूपमा सीआईएनले चाँडै नै विश्वासिलो पहिचान बनाउन सफल भयो।
सीआईएनको सुरुवाती दिनमा म, सोहम सुवेदी र जुनी भण्डारी मात्रै थियौँ। विस्तारै केन्द्र र जिल्लामा सहकर्मीहरू थपिँदै गए।
सामुदायिक रेडियोहरूमा कार्यरत रेडियोकर्मीहरू सीआईएनमा आबद्ध हुँदै गएपछि उनीहरूले पनि आफूलाई राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध भएको अनुभव गर्न थाले।
सीआईएनले समाचार तथा कार्यक्रम मात्रै प्रसारण गर्दैन, बरु देशभर उत्पादन भएका सामग्रीलाई साझा गर्दै क्षमता अभिवृद्धि गर्दै उत्प्रेरणा प्रदान गर्दै आएको छ।
पछिल्ला वर्षहरूमा सीआईएनका कार्यक्रम व्यावसायिक रेडियो, विभिन्न एपहरू र अनलाइन सञ्चारमाध्यमले पनि सन्तुलित र गुणस्तरीय भनेर प्रसारण गर्न थालेका छन्। यो आजसम्म सीआईएनले प्राप्त गरेको उपलब्धि हो भन्दा फरक नपर्ला ।
१७ वर्षको यात्रामा सीआईएनले प्रशस्त आरोह-अवरोह पार गरेको छ। सामाजिक रुपान्तरण, जनचेतना अभिवृद्धि, र कुरीति अन्त्यका मुद्दालाई पनि समान महत्व दिँदै अघि बढेको छ।
तर समयसँगै सञ्चारमाध्यममा देखिएका नयाँ आयामहरूसँग जुझ्दै, सीआईएनले पनि चुनौतीहरू भोगिरहेको छ। अझैँ पनि जनचेतना र सही सूचनाको अभावले सामाजिक रुपान्तरण र आर्थिक विकासमा अपेक्षित प्रगति हुन सकेको छैन।
आज पनि सत्य र तथ्यमा आधारित जानकारीको लागि धेरैले सामुदायिक रेडियोमै विश्वास र भरोसा गरिरहेका छन्।
सीआईएन स्थानीय रेडियोका सवालहरूलाई मुलधारमा ल्याउने, सरकार र सरोकारवालासँग संवाद गराउने, र साझा समाधानतर्फ उन्मुख गराउने माध्यमका रूपमा काम गरिरहेको छ।
राष्ट्रिय एकता, पहिचान, लोकतन्त्र, शान्ति, दिगो विकास र हानिकारक परम्परागत अभ्यासको अन्त्यमा यसको भूमिका उल्लेखनीय रहँदै आएको छ।
२०७२ को विनाशकारी भूकम्पदेखि हालको जाजरकोट भूकम्पसम्म, मधेशका डुवान र हुरी प्रभावित क्षेत्रमा स्थानीय भाषा र लवजमा सूचना प्रवाह गरेर सीआईएनले समुदायको विश्वास जितेको छ।
सीआईएनको समाचार कक्षलाई सामुदायिक रेडियोहरूको साझा समाचार केन्द्रका रूपमा विकास गर्ने प्रयास भइरहेको छ।
क्षमता अभिवृद्धिको निम्ति भर्चुअल तथा भौतिक तालिम, इन्टर्नसीप कार्यक्रम, मोबाइल जर्नालिजम, डेटा पत्रकारिता, र मल्टिमिडिया कथा वाचनजस्ता क्रिएटिभ कार्यशालाहरूको आयोजना योजना गरिएका छन्।
साथै अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र सहकार्यलाई विस्तार गर्दै सामुदायिक रेडियोहरूमा उठाइएका मुद्दाहरूलाई नयाँ मिडिया प्लेटफर्ममार्फत अझ व्यापक बनाउन लागिएको छ।
हाम्रो अभियानमा जनप्रतिनिधि पत्रकार, युवा, महिला, बालबालिका सबैलाई जोड्ने काम भइरहेको छ।
हेल्लो सांसद कार्यक्रमले सांसदहरूलाई उत्तरदायी बनाउने प्रयास गरिरहेको छ भने हाम्रो पालो जस्ता कार्यक्रमले सञ्चारमा पहुँच नपाएका वर्गको आवाज बुलन्द बनाउँदै आएका छन्।
स्रोताहरूका प्रत्यक्ष प्रश्न र समस्याहरू समाधान गर्ने हेल्लो सीआईएनमार्फत विश्वासिलो संवाद सञ्जाल निर्माण भएको छ।
यसैकारण देशभरिका स्रोताहरूको सहभागिता र विश्वास सीआईएनप्रति गहिरो देखिन्छ। सीआईएनले धर्म, जात, लिङ्ग, वर्ग र भूगोलको आधारमा हुने विभेद विरुद्ध कार्यक्रम निर्माण गर्दै आएको छ।
बालविवाह, दाइजो प्रथा, छाउपडी, बोक्सी आरोप, जातीय विभेद, कुमारी प्रथा, देउकी, झुमा, बहुविवाह जस्ता कुरीतिविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ।
आज सीआईएनले रेडियोसँगै मल्टिमिडिया प्रविधिलाई पनि आत्मसात् गर्दै अघि बढ्ने घोषणा गरेको छ।
देशभरका सामुदायिक रेडियोकर्मीहरूलाई फोन, इमेल र सामाजिक सञ्जालमार्फत रिपोर्ट लेखन र समाचार निर्माणको प्रशिक्षण दिइँदै आएको छ।
हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्था तथा सञ्चार माध्यमसँग सहकार्य अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ।
विगतमा साथ दिने सबै साझेदार, सहकर्मी, संस्थापक, सञ्चालक, पदाधिकारी र सहयोगीहरूलाई गहिरो आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर सहकार्यको अपेक्षा गर्दछौँ।
१७ औं सीआईएन दिवसको सुखद अवसरमा, देशभरका सामुदायिक रेडियोकर्मी, अकोराब–सीआईएनका सहकर्मीहरू, पूर्वकर्मी, पदाधिकारीहरू र शुभचिन्तकहरूप्रति गहिरो सम्मान र कृतज्ञता व्यक्त गर्दछु।
सीआईएन– सबैको साझा नेटवर्क, विश्वासिलो माध्यम र सामाजिक रुपान्तरणको संवाहक बनिरहोस्।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०८२