मे ३ तारिखका दिन विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यस वर्षको दिवसको नारा ‘पृथ्वी र प्रकृतिको संरक्षणमा सञ्चार माध्यमको भूमिका’ मा केन्द्रित छ । प्रकृतिको विनास र प्रदूषणलाई नियन्त्रण गर्ने प्रभावकारी काम नहुँदा काठमाण्डौँ विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा पर्नुले हामीले प्रकृतिलाई कति बेवास्ता गरेछौँ भन्ने प्रष्ट हुन्छ ।
सञ्चारमाध्यमले यो विषयलाई बढीभन्दा बढी प्राथमिकता दिएर प्रकृति र वातावरण संरक्षणको जनचेतना जगाउन र प्रकृतिको दोहन गर्नेको निगरानी गरेर प्रकृतिको वाच डगको रूपमा काम गर्नुपर्ने आवश्यकता छ ।
प्रकृतिसँग जोडिएको हाम्रो दैनिकी बिस्तारै प्रकृतिबाट टाढा हुँदा प्रकृतिको विनास भइरहेको छ । प्राकृतिक कुराहरूबाट विमुख भएपछि त्यसको प्रयोग हुँदैन ।
जस्तै अहिले वनमा पतकर सोर्ने, सुकेका दाउरा र अनावश्यक झाडी काटेर ल्याएर प्रयोग गर्नेक्रम घटेको छ, जसले गर्दा एक पटक वनमा आगो लाग्यो भने त्यो अनियन्त्रित हुने गरेको छ ।
अहिले अधिकांश वनमा डढेलो फैलनु र मानव बस्तीसम्म आइपुग्नुको कारण पनि नै यही हो ।
अर्को हामीले वनको व्यवस्थापन र वनपैदवारलाई उद्यम र व्यवसायसँग जोड्नै सकेनौँ, जसका कारण यस्तो अवस्था आयो । जनचेतनाको कमि र मानिसहरूको लापरबाही पनि एक कारण हो ।
विश्वमा नै नमूना प्रस्तुत गर्न सकेको नेपालको सामुदायिक वन समूहले नीतिगत झन्झटले होला वन व्यवस्थापनको काम अपेक्षाकृत रूपमा गर्न सकेको छैन ।
रुख रोप्न र हुर्काउन गरेको दुख वनको व्यवस्थापन र सुरक्षामा ध्यान नदिँदा पुरै खेर जाने अवस्था भयो ।
राम्रो नीतिहरू बनाएर राज्यले समुदायलाई उत्साहित र उत्प्रेरित गर्न सकेन । समुदाय कमजोर हुँदा आगलागी मात्रै होइन प्रकृतिको दोहनका अन्य काम पनि भइरहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन शाखा छ, त्यसको र गृहमन्त्रालयको विपद व्यवस्थापन शाखा तथा प्राधिकरणसँग राम्रो संयोजन गरेर काम गरेमा मात्रै यस्ता समस्याको समाधान गर्न सकिन्छ ।
जनचेतना जगाउनुका साथै सरकारका यस्ता संयन्त्रहरूदेखि स्थानीय सरकारसम्मलाई जोड्ने माध्यमको रूपमा पनि सञ्चारमाध्यमले काम गर्नुपर्ने अवस्था छ ।
डढेलो नियन्त्रण मात्रै नभएर अन्य विपद् तथा जलवायु परिवर्तनका सवालहरूमा यसरी नै काम गर्न सकियो भने मात्रै प्रभावकारी कार्य गर्न सकिन्छ ।
अहिले रेडियो, टेलिभिजन र पत्रपत्रिकाको क्रेज घट्दै गएको एक कारण यस्ता सवालहरूलाई यी सञ्चारमाध्यमले प्राथमिकताका साथ नउठाएर पनि हो ।
यस्ता विषयवस्तुमा स्रोता तथा पाठकको रुचि बढी छ भन्ने विभिन्न अनुसन्धानहरूले देखाएकाले पनि अब सञ्चारमाध्यमले आफ्नो कार्यशैलीमा परिवर्तन गर्नुपर्ने आवश्यक्ता छ ।
केही सञ्चारमाध्यमले पत्रकारिताको व्यवसायिक धर्मलाई छोडेर आर्थिक तथा राजनीतिक प्रलोभनमा परेर प्राकृतिक सन्तुलनलाई हानी गर्ने क्रसर तथा उद्योगधन्दालाई प्राथमिकता दिइ प्रचारप्रसार गरेको पनि पाइन्छ ।
यस्तो कार्यशैलीको प्रश्न उठिरहेकोले पत्रकारितमा भइरहेका गलत अभ्यास रोक्नु पर्दछ ।
अहिले वातावरण जसरी सङ्कटमा परेको छ त्यसैगरी रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनहरू सङ्कटमा परेका छन् । लोकतन्त्रको रक्षा गर्नको लागि यस्ता सञ्चारमाध्यमलाई जोगाउनु पर्ने आवश्यक्ता छ ।
स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले सञ्चारमाध्यमसम्बन्धी छुट्टाछुट्टै कानुन आफ्नै मनोमानी तरिकाले निर्माण गरेका कारण पनि समस्या भइरहेको छ ।
त्यसमा सुधार गरी यस्ता सञ्चारमाध्ययको दिगोपनामा काम गर्नुपर्ने देखिन्छ ।
हामीले फेर्ने सासको लागि चाहिने प्राणवायुलाई शुद्ध राख्ने काम र हाम्रो वरपरको वातावरण स्वच्छ र सफा राख्ने काम सबैभन्दा महत्वपूणर् हो त्यसका लागि हामीले अभियान गर्नु पर्दछ, यसै क्षेत्रमा काम गर्ने सञ्चारमाध्यम र पत्रकारको त झनै सक्रियताको अवश्यक्ता पर्दछ ।
युवा जागरण पर्यावरणीय मञ्च र रेडियो पर्यावरणमा काम गर्दा ५० को दशकको अन्त्यदेखि ६० को दशकको सुरुमा सञ्चारमाध्ययमबाट वातावरण संरक्षण र सरसफाइको अभियान गर्दा म आफैलाई डलरखेती गर्यो भन्ने जस्तो आरोप लाग्थ्यो ।
प्रदूषण बढ्दै जाँदा हामीले सास फेर्ने हावा स्वास्थ्यका लागि हानिकार हुन्छ भनेर त्यतिबेला भन्दा मानिसहरुलाई विश्वास लाग्दैन थियो ।
आज स्वास्थ्यमन्त्रालयले नै वायुप्रदूषण अत्यधिक भएकाले स्वास्थ्यका लागि हानिकारक बनेको छ, अत्यावश्यक काम परेमा मात्रै घर बाहिर निक्लनु भन्ने सूचना दिनुपर्ने अवस्था आइसकेको छ ।
त्यसैले वातावरण संरक्षणका लागि हामी सबै जुटेर अभियान सुरु गर्नु पर्ने अवस्था आएको छ । हामी सबैले जहाँजहाँ छौँ, त्यहाँबाट पर्यावरण संरक्षणको यो अभियानलाई सहयोग गरौँ, प्रदूषण बढाउने कार्य नगरौँ ।
अव्यवस्थित सहरीकरणले प्रकृतिको विनास भइरहेको हुनाले अब बन्ने सहरहरूलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिन जरुरी छ । यस्तो बेलामा दिगो विकास लक्षले भने जस्तै वातावरणलाई हानी नगर्ने गरेर मात्रै विकास निर्माणको कार्य गर्नु पर्दछ भन्ने चेतना फैलाउन सकियो भने पनि धेरै काम गर्न सकिन्छ ।
त्यसैले यस्ता विषयलाई सञ्चारमाध्यमले बढीभन्दा बढी उठाउनु आवश्यक छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१, १९:३८