नेपाल अहिले इतिहासकै संवेदनशील मोडमा छ । सडकमा उर्लिएको जेन्जीको हुङ्कारले सिङ्गो व्यवस्था हल्लाएको छ ।
भ्रष्टाचार, अन्याय र असमानताविरुद्ध उठेको यो पुस्ताको आवाज मुलुकका हरेक कुनामा गुञ्जिरहेको छ ।
आजसम्म २४ जना सहिद भइसकेका छन्, सयौँ घाइते भएका छन् ।
यी सबैको आहुतिले एउटा कुरा प्रष्ट पारेको छ—देशमा परिवर्तन अब अपरिहार्य छ । जेन्जीले देखाएको साहस केवल आन्दोलन होइन, भविष्यका लागि नयाँ विश्वास हो ।
विश्व इतिहासले प्रमाणित गरिसकेको छ—कुनै पनि मुलुकमा परिवर्तन बलिदानकै बाटो भएर आउँछ ।
फ्रान्सदेखि भारतसम्म, दक्षिण अफ्रिकादेखि नेपालसम्म—जहाँ युवा पुस्ता उठे, त्यहाँ पुरानो प्रणाली भाँचिएको छ ।
आज नेपालमा पनि त्यही ज्वाला भड्किएको छ । जेन्जीले दशकौँदेखि राज्यलाई आफ्नो निजी सम्पत्ति ठान्ने भ्रष्ट र लाजविहीन नेताहरूमाथि प्रश्न उठाएका छन् ।
तर आन्दोलनको उत्साहसँगै एउटा गम्भीर प्रश्न पनि जोडिएको छ—अब नेतृत्व को हातमा जाने ? आन्दोलन त छ, तर दिशा कसले दिने? के सेनाले कब्जा गर्ने ? के यो अवसरलाई राजतन्त्र फर्काउने आधार बनाइन्छ ? वा फेरि कुनै नयाँ तानाशाह जन्मिन्छ? यदि यस्तो भयो भने, यो बलिदान व्यर्थ हुनेछ ।
नेपालमा आन्दोलन नयाँ होइन । २०४६, २०६२/६३, गणतन्त्र—यी सबै आन्दोलनले व्यवस्था फेरिदिएका थिए । तर किन देश अझै सङ्कटमै छ ? कारण एउटै हो—असल नेतृत्वको अभाव ।
नाम बदलियो, तर शासन गर्ने प्रवृत्ति फेरिएन । त्यही कारण आज फेरि जेन्जीको आन्दोलन सडकमा पुगेको हो ।
अब जेन्जीले केवल आन्दोलनकारी पुस्ता भएर मात्र पुग्दैन, नेतृत्व निर्माण गर्ने पुस्ता बन्नुपर्छ । यो आन्दोलन हिंसाले होइन, विचारले जित्नुपर्छ ।
सरकारी भवन जलाउनु, प्रशासनिक संरचना भत्काउनु, ऐतिहासिक सम्पदा ध्वस्त पार्नु कुनै समाधान होइन ।
ती सम्पत्ति हाम्रो पहिचान र राष्ट्रका प्रतीक हुन् । आफैंको घर जलाएर हामीले उज्यालो खोज्न सक्दैनौँ । त्यसैले अबको बाटो संयम र विवेक हो । आन्दोलनलाई सङ्गठनात्मक र नीतिगत दिशामा अघि बढाउन जरुरी छ ।
सडकमा गुञ्जिएको आवाजलाई संसदसम्म पुर्याउनुपर्छ । बलिदानलाई संस्थागत उपलब्धिमा परिणत गर्नुपर्छ।
नेपाललाई बलिदानी मात्र चाहिएको होइन, देशलाई सही बाटो देखाउने सक्षम नेतृत्व चाहिएको हो । त्यो नेतृत्व कसको हातमा जाने हो—यही प्रश्नमा नेपालको भविष्य टुङ्गिनेछ ।
जेन्जीको आन्दोलनले आशाको दीप प्रज्वलित गरिसकेको छ । अब त्यो दीपले उज्यालो फैलाउँछ वा फेरि अन्धकारमा हराउँछ—निर्णय गर्ने शक्ति जेन्जीको हातमै छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२